लक्ष्मणलाल कर्णको संसदमा प्रश्न, ‘मन्त्री र लोकसेवा अध्यक्ष आकाशबाट आएका हुन् ?’


२ असार २०७६, सोमबार
lakchaman lal kan

काठमाडौं, २ असार । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद लक्षमणलाल कणले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने कुरामा सभामुखले हस्तक्षेप बढाउनु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सासद लक्ष्मणलाल कर्णले संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् ।

संसदीय समितिले दिएको निर्देशन संवैधानिक निकायका प्रमुख र सरकारका मन्त्रीले मान्दिनँ भनेर संसदीय गरिमामाथि नै चुनौति दिने काम गरेको भन्दै उनले भने, ‘संसदको गरिमा, मर्यादा बचाउन सभामुख महोदयले अभिभावकको भूमिका निर्वाह गर्नु पर्‍यो ।’

राज्य व्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यान्वयन नगरेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न निर्देशन गरेको र अत्यन्तै आवश्यक भए करारमा राख भनेको स्मरण गराउँदै उनले संसदको निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उलंघन गरेको आरोप लगाए ।

‘समितिको निर्देशन मान्दिनँ भनेर मन्त्रीले भन्ने ? मन्त्रीको जन्म यहि संसदबाट भएको हो । मन्त्री आकाशबाट आएको होइन । मन्त्रीले बुझ्नुपर्छ । यो संसदले नै मन्त्री जन्माएको हो ’ कर्णले थपे ‘लोकसेवा आयोगको अध्यक्षले भन्छन् म मान्दिनँ । प्रवक्ताले भन्छन्–म मान्दिनँ । अब कसको कुरा मान्ने त ?’ उनको प्रश्न थियो ।

‘संविधान पनि नमान्ने, कानुन पनि नमान्ने र संसदलाई पनि नमान्ने हो भने यो देश कसले चलाईरहेको छ ? एकजना मन्त्री र एकजना लोकसेवा आयोगले चलाउन सक्छ यो देश ?’ लोकसेवा आयोगको कर्मचारी भर्नासम्बन्धी विज्ञापन स्थगन गर्न राज्य व्यवस्था समितिले दिएको निर्देशन आयोग र मन्त्रीले नमानेकोमा आक्रोशित बनेका कर्णले भने, ‘विज्ञापनको विरोधमा आन्दोलन भईरहदा कसैलाई चिन्ता नभएपनि हामीलाई चिन्ता छ । यही समानुपातिक समावेशीका लागि हामीले लडाई गर्‍या हो आन्दोलन गर्‍या हो ।’

स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले गत जेठ १५ गते झण्डै नौ हजार कर्मचारीको विज्ञापन गरेको थियो । उक्त विज्ञापन समानुपातिक समावेशी नभएको भन्दै विरोध भइरहेको छ ।

राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले संविधानको भावनाविपरित सरकार अघि बढ्न खोजेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा वोल्दै राजपाका सांसद समेत रहेका कर्णले संविधानको प्रस्तावना र संविधानमा राखिएको मौलिक अधिकारको समेत वेवास्ता गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७