प्रकाश सपुतको शम्भू राईलाई भावुक खुल्ला पत्र


५ असार २०७६, बिहीबार
shambhu rai

काठमाडौं, ५ असार । गायक प्रकाश सपुतको पछिल्लो गीत ‘गलबन्दी’ को अहिले बजारमा चर्चासँगै विवाद पनि छ ।

पूराना गायक–संगीतकार शम्भु राईले गलबन्दी गीतको भाका आफ्नो पूरानो देउसी गीतसँग मिलेको आरोप लगाएका छन् । गीतभाका मिल्दो जुल्दो भए पनि कपी नभएको बताउनेहरु पनि धेरै छन् ।
तर, संगीतकार राईले भने चोरी भएकै कुर दावी गर्दै आएका छन् ।

त्यति मात्र होइन, राईले बिभिन्न सञ्चार माध्यममा गीत चोरीको बिषयमा अन्तरवार्ता समेत दिएका छन् । यही बिषयलाई लिएर गायक सपुतले राईलाई एक खुल्लापत्र लेखेका छन् । हेर्नुस् गायक सपुतको शम्भू राईलाई खुल्लापत्र

आदरणीय शम्भु राई सर। नमस्कार ।
आराम छु, आराम चाहन्छु ।

आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जाँदै गर्दा बुटवल फर्साटिकटमा रहेको रिद्दिसिद्दि पार्टी प्यालेसको पहिलो तलाको बीचको कोठाको बेडरुममा पल्टिएर मोबाइलको नोटबुकमा यो चिठ्ठी लेख्दैछु । तपाईलाई विश्वास नलाग्ला गीत पनि सुन्दैछु – चिठ्ठी तिमीलाई लेखुँ भन्छु !’ बिना कुनै स्वार्थ बिना कुनै उक्साहट, बिना कसैको सुझाव सल्लाह, बिना कुनै योजना यत्तिकै मनबाट जे आउँछ त्यहि लेख्दैछु सर । करिब ३६ डिग्री गर्मीलाई उछिन्ने जोशमा फुल स्पिडमा उषा ब्राण्डको फ्यान घुमिरहेको छ ।

अलिअलि शितल गराएको पनि छ तर, फ्यान भन्दा स्पिडमा घुमिरहेको मेरो मनका कुराहरु यहाँ पोखेर शितल हुन चाहन्छु । यद्दपि हुन्छु कि नाई । थाहा छैन । भर्खरै एउटा सांगितिक प्रस्तुती दिएर फर्केको । यहि नजिकै महोत्सब लागेको छ । राम्रो पारिश्रमिक तोकेर आएको थिएँ । करिब आधा जति दर्शक टिकट नपाएर गुनासो गर्दै फर्किएछन् । आयोजकले भोलि पुन प्रस्तुति दिन आग्रह गर्नु भएको छ । कारण गल्बन्दी क्रेज ।

मैले सोचेकै थिएन सर लोक गीत गाएर यतिबिधि चर्चित भइन्छ भनेर । बुढापाकाले मात्रै त्यो पनि पश्चिम पश्चिम भेगतिर सुनिने लोकदोहोरी गाएर कहिल्यै सेलिब्रिटी बनिन्छ जस्तो लाग्थेन । त्यसैले गति नै त छाडिएन तर अनेक तिक्डम चै लगाएकै हो । एकबारको जूनीमा गाउने इलम गरिसकेपछि २–४ जनाले चिनेनन् भने के गाउनु ठानें भन्ने आत्मबोध भइरहन्थ्यो । त्यसैले गीतै गाएर पेट र परिवार पालेको भए पनि म कहिल्यै खुशी भइन् । सपना ज्यूँको त्यूँ छ । भोक ज्यूँको त्यूँ छ भनेर निकै निरासामा गुज्रिरहेको थिए ।

कसो कसो दोहोरी व्याटलले अलिअलि भोंक मेटायो । त्यहि चिनिने भोक क्या सर । पछि बोल माया गर्दा मैले चिनिने भन्दा सम्झिनेतिर अल्ली बढि ढल्केर काम गरें र आफूलाई अलिधेरै अंक बटुले दर्शक श्रोताबाट । ब्याटल टुले मेरो परिचयमा थोरै प्रश्न उठायो । त को होस ? कÞताको मुन्छे होस ? भनेर अलिअलि नम्बर घट्यो पनि तर क्रियटिभिटीमा नम्बर त जोडिएकै हो ।

कहिलेकाही उत्तर गलत हुँदा पनि अक्षर राम्रो भएर नम्बर पाइन्थ्यो नि सर स्कुलमा । त्यो पनि गणितमा, बिज्ञानमा होइन नेपाली बिषयमा । हो संगीत पनि नेपाली बिषय जस्तै लाग्छ सर । गणितको, बिज्ञानको जस्तो ठ्याक्कै उत्तर नमिले पनि मिठो भाषा लेख्न जान्यो भने, राम्रो अक्षर कोर्न जान्यो भने लगभग पास अंक त पाइने । १०० मा ३२ ।

गल्बन्दीसम्म आउँदा मेरो अंक सयमा सयमा आएको थियो सर । कपि जाच्ने शिक्षक जस्तै गीत जाँच्ने दर्शक श्रोतालाई उत्तर, अक्षर र भाषा सबै ठिकै लागेको थियो । त्यसैले रिजल्ट पनि लगभग स्कुल टप नै भयो । सामान्य अंकमा पास हुनेको के भ्यालु हुन्छ र ? तर स्कुल नै टपिसके पछि सबैको चासो हुनु स्वभाविक हो । त्यसैले गल्बन्दीलाई तपाईले पनि जाँच्नु भयो सर । तपाईलाई लाग्यो अक्षर र भाषा राम्रो छ तर, उत्तर कतैबाट प्रभावित छ । लाखे हौ, मेरै बाट प्रभावित छ कि के हो ?

सर्वप्रथम त तपाईले गल्बन्दी सुनिसकेपछि तपाईको मनमा भाका मिले जस्तो लागेर भएको छटपटि र हल्ला भयसकेपछि आएका नकारात्मक टिका टिप्पणीहरुबाट तपाईको आत्मसम्मानमा पुग्न गएको ठेसप्रति म दुःख व्यक्त गर्दछु । एउटा अनुजको कामले अग्रजको मनमा उब्जिएको बेचैनी र तपाईको व्यक्तित्व र नियतमाथि आएका प्रश्नहरुप्रति म लज्जाबोध गर्दछु ।

यद्दपि तपाईले कुरा उप्काईसकेपछि मेरो नियतमाथि, मेरो व्यक्तित्वमाथि, मेरो सिर्जनामाथि लागेका आरोपहरुले मेरो आत्मसम्मानमा, मेरो दैनिक जीवनमा, मेरो मानसिकतामै पनि कत्रो असर पुगेको छ त्यतातिर सोचेर हजुर दुःखी नहुनु होला है । म ठिक ठाक छु सर । हामीलाई हाम्रो समयले दिएको एउटा जादूमयी अवसर छ – भाइरल । छिनमै उचालिएर माथि पुग्ने, छिनमै तल थेचारिने । त्यसैले लगभग सामान्य जस्तै लाग्न थालेको छ रातारात चर्चित हुने र रातारात गाली खाँदै लखेटिने प्रवृति । जुन भोक थियो नि सर चिनिनेर चर्चित हुने । भयो, अघाइयो । भुँडी फुट्ने गरी अघाइयो ।

अं साँच्ची भाका मिलेको प्रसङ्ग । गाउँमै हुँदा सुनेको भनेर तपाईलाई मख्ख पार्दिन सर । काठमाडौं आएर दोहोरी साँझमा काम गर्न थालेपछि हजुरका धेरै गीतहरु सहकर्मीहरुको आवाजमा सुनियो । आफूलाई रहर लागेर खोजी खोजी ओरिजिनल गीत सुनेर डायरीमा गीत टिपेर पनि गाइयो ।

चिठ्ठी तिम्लाई र तिमीले सम्झेनी लाखै छ भन्ने अक्सर अफर आउँथ्यो दोहोरीमा सहकर्मीले गाउँथे म अभिनय जस्तो गर्थे । हल्का रक्सीले मातेको बेला यस्तो गीतले अझै छुने रैछ कि मान्छेलाई कुन्नि ? पैसा पनि राम्रै झथ्र्यो । म चाँहि रहरले चलेछ बतास सुस्तरी गाउने प्रयास गर्थे । त्यसको पुरै अन्तरा याद छ सर मलाई । कतै माहोल जुरेछ भने म हजुरलाई सुनाम्ला गाएरै । तर कुन कसम खाएर भनौ सर यो देउसी भैलो गीत मैले सुनेको थिएन ।

त्यसैले मैले कपि गरेको हुँदै होइन । पहिले नै रेकर्ड भइसकेको कुनै गीत पुनः रेकर्ड गर्छु र हिट बनाउँछु भन्ने आत्मविश्वास कसैमा हुन्छ जस्तो लाग्दैन सर । बरु पुरानो हिट गीतलाई रिमेक गर्ने, कभर गर्ने चलन बढेको छ । यो कति सहि गलत त्यता नजाउ मैले यहाँ जोड्न खोजेको चाहि पहिला त्यति नसुनिएको, सफल नभएको गीतलाई रि रेकर्ड गरेर चलाई दिन्छु भन्ने कन्फिडेन्स ममा छैन सर । त्यो रिस्क तपाईले त्यति खेरै लिनु भयो । अब मैले किन लिन्थेर ! अहिले त झन खर्च बढेको छ सर । कलाकारको भाउ र पारिश्रमिक ह्वात्तै बढेको छ । खर्च उठाउने विजनेस वे छैन । उसबेला जस्तो क्यासेटमा साइन गरेर पठाएको अनुभव हामीले गर्न पाइएन सर । अहिलेको अवसर र चुनौती भनेको मैल माथि जोडिसके त्यहि ‘भाइरल ‘ हो । त्यो पनि फिरिको ।

सर भाका मिलेकै छैन ? का मिलेको छ ? भनेर तपाईको बिचारलाई तपाईको फिलिङसलाई तपाईको प्रत्येक तर्कलाई म खण्डन गर्न चाहन्नँ । तपाईले आफैले भन्नु भएको थियो म तपाईको छोरा भन्दा पनि धेरै कान्छु उमेरको छु । तपाई मेरो बुबा भन्दा पनि बढि उमेरको हुनुहुन्छ । यसकारण तपाईको भोगाई, तपाईको अध्ययन अनुभव, तपाईको योगदान तपाईको सफलताको अगाडि म धेरै बच्चा छु । उमेर अनुभव र समयले पनि म केटकेटी नै हो ।

एउटा श्रोता भएर सुन्दा गलबन्दी र आउ नाचौ १–२ ठाउ उस्तै उस्तै सुनिन्छ जस्तो मलाई पनि लाग्छ । ओई सुन्त मिलेको छ यार भनेर यी दुई गीत ( अलिकति स्पीड बढाएर) फोर्सफुल्ली एकैचोटी सुनाउने हो भने जोकोहीको मनमा पनि आउँछ होला – य हो त यार मिलेकै रैछ । तर अलि गहिरिएर सुन्ने हो भने ठ्याक्कै मिलेको चाँहि छैन कि सर । कपि हुनलाई त पुरै र्‍याङ कि ठ्याङ मिल्नु पर्ने हैन र । सेम टु सेम भएपछि त फ्याट्टै चिनिन्छ सर । यसरी मत नै बाझिदैन । हेर्नुस् त दर्शकहरु बाँडिएको । कसैलाई लाग्छ मिल्छ । कसैलाई लाग्छ मिल्दैन । त्यसैले यो दर्शकलाई भजाएर हामी कबड्डी कबड्डी जस्तो मिडियामा नखेलौ सर ।

मैले यहाँनिर धेरै लोक भाका मिल्छन् । उस्तै उस्तै हुन्छन् । यो हाम्रो नेपालको सम्पति हो । पब्लिक डोमेन हो । यस्तो उस्तो भने भने पनि तपाईलाई तर्कले जित्न खोजे जस्तो होला । यद्दपि अन्य संगीतहरु अलिकति गणितीय सूत्रमा बाँध्न सकिन्छ । लोकभाकाहरु अलिबढि स्वतन्त्र हुन्छन् । खोलाहरु जस्तै, हावा पानी बनजङ्गल जस्तै प्राकृतिक ।

मेरो सिर्जनाहरु धेरै कुराहरुबाट प्रभावित छन् सर । उसै पनि जति गीत चलेका छन् ती सबै शब्द र संगीतले मात्रै होइन भिडियोमा अनेक तिग्डम गरेको छु सर । यो प्रविधिले र जमानाले बनाएको हो । म्युजिकबाट उठेर गीत भनेर म्युजिकमै सकिदा पनि पूर्ण गीत हुन्थ्यो चिठ्ठी तिम्लाई’ ताका । अहिले चिठ्ठीको चलन हराएर भिडियो च्याटको जमाना भएर हो कि सर गीतको अगाडि पछाडि यस्सो नाटक नजोडी त गीत नै पूर्ण नहुने जस्तो पो भैसक्यो । खैर, म फेरि जोड्न चाहन्छु मैले ठ्याक्कै गीत सुनेर कपि गरेको हुँदै होइन सर । डिट्टो कपि पनि छैन गीतमा ।

मैले नेपाली सांगीतिक इतिहासको बारेमा त्यति अध्ययन गरेको त छैन तर तपाई भन्दा अझै अग्रज, तपाई र मसम्म आउँदा नेपाली संगीत र विशेषतः लोक गीत सिर्जना गर्ने ती तमामा अग्रजहरुबाट प्रभावित हुँदै नै हामीले गीत सिर्जना गर्ने हो । तपाईहरुले बडो दुःख गरी खनेको बाटोमा हामी सजिलरी हिंड्न पाएका छौ । यस्सो खाल्डाखुल्डी पुर्ने र सके कालोपत्रे गर्ने जÞिम्मेवारीबोध पनि गरेका छौ । तपाईहरुकै बाटोमा हिंड्दै गर्दा तपाईहरु जस्तै जस्तै देखिनु स्वभाविक हैन र सर ? अहिले समय अलि बदलिएको छ सर । गीत संगीतमा भीड़भाड़ छ । किनकी बाटो सजिलो भएको छ । जोकोही जा कहिबाट आउन मिल्ने भएर पनि होला । त्यसमाथि हाम्रो पुस्ताको रुची फेरि डेन्जर डेन्जर छ सर ।

यस्तो अवस्थामा गल्बन्दी जस्तो मौलिक लोक गीत यो लेभलमा स्वीकार्य हुनु पनि एउटा उपलब्धि हो सर । आफ्नो व्यवसायिक नाफा घाटा नहेरी सांस्कृतिक महत्व बचाउन सबै बिधि पुर्‍याएर ३२–३५ मिनेटको तिहार गीत बनाउन तपाईलाई जरुरी थियो र सर ? तिमीले सम्झेनी लाखै छ जस्तो अर्को खत्रा आधुनिक गीत दिएर आरबीटीबाट झ्याम्म दाम बुझ्न सक्नु हुन्थेन र ?

म्युजिक नेपालसँग राम्रै छ सम्बन्ध तपाईको तर तपाईलाई कलाकारिता गर्दा केबल नाफा घाटा मात्रै भन्दा पनि नेपाली लोक संगीतको ! नेपाली मौलिक कला संस्कृतिको बिछट्टै माया रैछ सर । त्यति माया गर्ने मान्छेले एउटा अनुज भाइले अहिलेको समयमा मौलिकता झल्काउन गरेको प्रयासलाई अलिकति भाकाको प्रसङ्ग लिएर निरुत्साहित नगरिस्यो न । हजारौ प्रकाश सपुत आए पनि तपाईको इतिहास र अस्तित्व मेटिन्न सर । ल मानम कसैले अझै मिठो गरी चिठ्ठी तिम्लाई दुरुस्त निकालेछ भनेपछि तपाई मेटिनु हुन्न सर । तपाईको अस्तित्व आउँछ आउँछ ।

लेख्दा लेख्दै मोबाईलको व्याट्रि २ प्रेसेन्ट भएछ । समय बिहानको ४ः३४ ! र अन्त्यमा, तपाईले बोलाएका फोरमहरुमा म उपस्थित हुन तयार छु सर, छलफलका लागि बहसका लागि, संगीतको शुद्धिकरणका लागि, कपराईटको कानुन कार्यान्वयनका लागि र अग्रजहरुको सम्मानका लागि ।

तर यो मेरो वर्किङ आवर्स हो सर । सिर्जनशिल हुन सक्ने र सोहि अनुसार दौडिन पनि सक्ने उमेर हो मेरो । यो समयमा मलाई नअल्झाईस्यो न सर । म पनि केबल नाफा घाटा मात्रै भन्दा पनि केहि फरक र राम्रो गर्न सकिन्छ कि भनेर धेरै रात अनिदो बस्छु । गल्बन्दीको लागि पनि मैले धेरै नै मेहेनत गरेको छु सर । जहाँसम्म नाम राख्ने कुरा छ । यो धेरै लोक भाकाहरुबाट प्रभावित छ सर । यता पश्चिमतिरको भजनको ताल र रत्यौलीको लय मिश्रित छ भने हजुरको देउसीबाट पनि प्रभावित भएछ ।
अब कसकसको नाम राखौ सर । नाम में क्या चिज हे ? अब यसै पनि आजको मितिसम्म सबै भन्दा छोटो समयमा करोड़ क्लबमा जाने गीत कुन हो भन्ने प्रश्नमा उत्तर आउछ – गल्बन्दी । तर उत्तर यतिमै सकिदैन । ‘ए त्यो शम्भु राईसँग मिलेको गीत’ भनेर आउने भइसक्यो । विश्वास बिचित्रको चिज हो सर । यो निकै जरा गाडेर बसेको हुन्छ मानिसहरुमा । अब तपाईले मिलेकै हो भन्ने प्रमाणित गरे पनि मिलेको छैन भन्नेलाई विश्वास लाग्दैन । मैले हैन मिलेकै छैन भनेर चिच्याए पनि गीत उस्तै उस्तै सुन्नेको कान फेर्न सक्दिन ।

त्यसैले एउटा सिर्जनामाथि दर्शक श्रोताको चासो, चिन्ता र माया सम्झेर यो प्रसङ्ग यहि स्वतन्त्र छोड़ौ न सर । म तपाईलाई असाध्यै सम्मान गर्छु । तपाई मलाई प्रोत्साहन गर्नु हुन्छ भन्ने कुरामा विश्वस्त छु । आगामी सिर्जनाको लागि सचेत बनाउनु भएकोमा धन्यबाद सर । तर म र म जस्तै नयाँ पुस्तालाई डर पैदा नगरिदिनु होला । जो गीत संगीतमा केहि गरौ भन्ने हुटहुटिले लामो संघर्षपछि अलिअलि तंग्रिएका छौ । धन्यबाद सर । टेक केयेर सि यु सर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७