विप्लव समूह र प्रहरीबीच भिडन्त, जिल्ला इञ्चार्जको मृत्यु


५ असार २०७६, बिहीबार
kumar poudel

सर्लाही, ५ असार । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । प्रहरीको गोली लागेर विप्लवका एक कार्यकर्ताको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार मारिनेमा कुमार पौडेल रहेका छन् । पौडेल ‘विप्लव’ समूहको सर्लाही जिल्ला इञ्चार्ज रहेको प्रदेश–२ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले जानकारी दिएका छन् । पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले बताएको छ । अन्य तीन जना भने भागेको प्रहरीले जनाएको छ ।

पौडेल बागमती नगरपालिका धरहराका स्थानीय बासिन्दा हुन् । उनै पौडेलको नेतृत्वमा नेकपाका नेता, कार्यकर्ता र प्रहरीबीच केही महिनाअघि पनि सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर तनाव उत्पन्न हुँदा प्रहरीले गोली चलाएको थियो । तर, त्यतिबेला भने कुनै मानवीय क्षति भएको थिएन ।

पौडेल नेकपा माओवादी फुटेपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । पछि उनी नेत्रविक्रम चन्दले नेकपा बनाएपछि सोही पार्टीको प्रदेश नम्बर २ कै माथिल्लो तहमा थिए । त्यसअघि उनी चुरे भावर पार्टीमा थिए ।

नेकपाले बागमती नगरपालिकाका मेयर भरत थापालाई काबाही गर्ने चेतावनी दिएको थियो । पूर्व माओवादी मेयर थापाले जनयुद्धकालमा सुराकी गरेको, आर्थिक अपचलन गरेको, भ्रष्टाचार र गुण्डागर्दी गरेको आरोप लगाउँदै जनताले दण्डित गर्ने चेतावनीपूर्ण विज्ञप्ति जारी गरेको थियो ।
यसअघि भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा प्रहरीको गोली लागेर विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको थियो ।

घिमिरेको तिघ्रामा गोली लागेको थियो । उनको बढी रगत बगेका कारण ज्यान गएको थियो । सरकारले प्रतिबन्ध लगाएयता दुई विप्लव कार्यकर्ताको न्यान गइसकेको छ । सरकारले २०७५ फागुन २८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७