गाडी र मोटरसाइकल चोरको कनेक्सन प्रहरीसम्म


९ असार २०७६, सोमबार
rudra sahi

काठमाडौं, ९ असार :  गाडी र मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोको कनेक्सन ट्राफिक प्रहरी महाशाखासम्म देखिएको छ । चोरीका गाडी र मोटरसाइकल खरिद बिक्री गर्ने मुख्य नाइके चितवनको भरतपुर महानगरपालिका बकुलहरस्थित मनकामना अटो एण्ड रिकन्डिसन वर्कसप जगतपुरका संचालक दिपु श्रेष्ठ भन्ने दिपेन्द्र श्रेष्ठलाई पक्राउ गरी कारबाही गर्ने पर्याप्त आधार हुँदाहुँदै नेतादेखि प्रहरीको संरक्षणका कारण उनले उन्मुक्ति दिंदैआएको छ ।

 

दीपु श्रेष्ठलाई चितवनका प्रहरी प्रमुखदेखि ३ नम्बर प्रदेशका डीआइजी र काठमाडौंको महानगरीय ट्राफिक प्रहरी महाशाखाका केही अधिकृतले नै संरक्षण गरेको देखिएको छ । चितवनका पूर्व माओवादी केन्द्र र हाल नेकपाका केही नेताहरुका अतिरिक्त प्रहरी प्रशासनको संरक्षणमा दीपुले चोरीका गाडीदेखि मोटरसाइकलको ब्यापार गर्दैआएका छन् ।

 

काठमाडौंदेखि पोखरा, बुटवल, दाङ, नेपालगंजबाट मोटरसाइकल चोरी गर्नेहरुले चितवनको रत्ननगरस्थित दिपु श्रेष्ठको मनकामना अटोमा ल्याएर बिक्री गर्ने गर्दछन् । उनले चोरीका मोटरसाइकल वर्कसपमा लगेको १० मिनेटमा खोलाखाल(अप्रेसन)गर्दछन् । र, अर्कै मोडेलको मोटरसाइकल तयार पारी फटाफट बिक्री गर्दैआएका छन् । सबैतिर सेटिङ मिलाएर उनले निर्वाध रुपमा प्रहरीको नाकैमुनि यो धन्दा संचालन गरेका छन् ।

 

चितवनका प्रहरी प्रमुख दीपक थापा, सुशीलसिंह राठौर हुँदै हालका दानबहादुर मल्लसँग पनि उनले सेटिङ मिलाइसकेका छन् । उनको सेटिङ काठमाडौंस्थित ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाई(चोरी शाखा)मा पनि छ । चोरी शाखाका प्रमुख हुन्, इन्स्पेक्टर रुद्र शाही । शाखाका असई धनबहादुर क्षेत्री चितवनकै हुन् । असई क्षेत्री महाशाखाको चोरी शाखामा बसेको १४ बर्ष भइसकेको छ ।

 

मोटरसाइकल र गाडी चोरी गरी बिक्री गर्ने चितवनका दीपु श्रेष्ठसँग कनेक्सन भएका तिनै क्षेत्रीले शाखा प्रमुख शाहीसँग पनि सेटिङ गरिदिएका छन् । चितवनमा नयाँ एसपीका रुपमा मल्ल हालै गए । उनले घुमुवा असई सीताराम खतिवडाको टोलीसँग चितवनका विभिन्न क्षेत्रको बारेमा जानकारी लिए । त्यसक्रममा चोरीका गाडी बिक्री गर्ने मनकामना अटो सेन्टर र दीपु श्रेष्ठको बारेमा बताएका थिए । उनीहरुले प्रदेशका डीआइजीले पनि दीपु श्रेष्ठको बारेमा मौन बस्न भनेको समेत संकेत गरेका थिए ।

नयाँ एसपी आउनासाथ मिलाउन खप्पिस दिपु श्रेष्ठले सिन्धुपाल्चोकका एक पूर्वमाओवादी नेतामार्फत् मल्लसँग पनि सेटिङ मिलाइसकेको स्रोतको दाबी छ । यसरी सबैतिर सेटिङ मिलाएर दीपुले चोरीका मोटरसाइकल र गाडी खरिद बिक्री धन्दा गर्दैआएका छन् ।

 

५ वटा चोरीका मोटरसाइकलसहित पक्राउ परेका तेजबहादुर तामाङको बयानका आधारमा दिपु श्रेष्ठलाई पक्राउ गर्न ललितपुर प्रहरीले केही महिनाअघि टोली पठाए पनि रित्तो हात फर्किएको थियो । बीचमै ललितपुर प्रहरीका हाकिमसँग कुरा मिलेपछि टोली फर्काइएको थियो । तेजबहादुर तामाङले बयानका क्रममा मोटरसाइकल चोरीमा दिपु श्रेष्ठ र सुमित लामाको नाम लिएका थिए । सुमित र आफूले मोटरसाइकल चोरी गर्ने र दिपुको रत्ननगर नगरपालिकास्थित मनकामना अटो एण्ड रिकन्डिसनमा लगेर बिक्री गर्ने बयान दिएका थिए । त्यही बयानका आधारमा प्रहरीले दिपुलाई पक्राउ गर्न तत्परता देखाएको थियो । तर प्रहरीका एक अधिकृतमार्फत् सेटिङ मिलाएर उनी पक्राउ पर्नबाट जोगिएका थिए ।

 

दिपु श्रेष्ठलाई लामो समय चितवन जिल्ला प्रहरी कार्यालयमा घुमुवा बसेका र हाल अपराध अनुसन्धान महाशाखामा कार्यरत असई कमल क्षेत्री भन्ने कमल परियारको पनि साथ र सहयोग छ । परियारले  अपराध महाशाखालाई मिलाउने नाममा उनलाई संरक्षण गर्ने काम गर्दैआएका छन् । परियारलाई प्रहरी प्रधान कार्यालय आर्थिक महाशाखा प्रमुख एसएसपी दीपक थापाले अपराध महाशाखामा ल्याएका हुन् । थापा चितवन प्रहरीको प्रमुख हुँदा असई परियार उनका असुली गर्ने घुमुवा थिए ।

 

यो पनि पढ्नुहोस्ः

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७