कुमार पौडेल मृत्यु प्रकरण : गृहमन्त्रीकै अघि आँशु झारिन् सत्तारुढ सांसदले नै


९ असार २०७६, सोमबार
rajya byawastha

काठमाडौं, ९ असार । सर्लाहीमा गत ५ असारमा प्रहरीको गोली लागि मारिएका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्या घटना अहिले सर्वत्र चर्चाको विषय बनेको छ । यो विषयले अहिले राजनीति दल र संसदमा समेत चर्चा पाइरहेको छ ।

यस विषय बुझ्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सोमबार छलफलमा बोलायो ।

समितिले पौडेल मुठभेडमा मारिएको सरकारी दाबीमा आशंका गर्दै गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएको हो । छलफलमा भाग लिनेमध्ये अधिकांश सांसदले पौडेलको गैरन्यायिक हत्या भएकाले छानबिन माग गरे ।

त्यसरी जसलाई भेट्यो उसैलाई गोली हान्न थालिए मुलुकमा लोकतन्त्र र मानवअधिकार संकटमा पर्ने भएकाले पौडेल हत्याबारे सत्थतथ्य बाहिर ल्याउन माग गरे । त्यसमध्येकी एक थिइन्, सत्तारुढ नेकपाकै सांसद तीर्था गौतम ।

जब उनी सभापति शशि श्रेष्ठसँग समय लिएर बोल्न थालिन्, तब गला अबरुद्ध भए । उनले आँशु नै खसालिन् । उनले पक्राउ गर्न सकिने अवस्था हुँदाहुँदै पौडेललाई किन हत्या गरियो भन्दै प्रश्न गरिन् । यस्ता घटनाले मुलुक पुनः द्वन्द्वमा फस्ने भएकाले घटनाका दोषीमाथि कार्बाही गर्न र आउँदा दिनमा त्यस्ता घटना हुन नदिन सतर्क रहन आग्रह गरिन् ।

‘पक्राउ गर्ने अवस्था हुँदाहुँदै मान्छे समातेर गोली हान्न थालियो भने मुलुक कता जान्छ ?’, उनले गृहमन्त्रीतर्फ लक्षित गर्दै प्रश्न गरिन् । बोल्ने क्रममा सांसद गौतमको झण्डै एक मिनेट जति गला अवरुद्ध भयो । यस विषयमा नेकपा नेता दनार्दन शर्माले मुठभेडमा मारिएका पौडेलको हात ५–६ ठाउँमा कसरी भाँचियो भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७