जागरण अभियानका प्रतिनिधिसँग कांग्रेसको छलफल जारी


१२ असार २०७६, बिहीबार
congress 3

काठमाडौं, १२ असार । नेपाली कांग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ ।

पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया आज बिहान ८ बजेबाट पुनः शुरु गरेको हो । बुधबार मात्र २६ प्रतिनिधिले छलफल तथा अन्तरक्रियामा भाग लिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म देशभर सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ मा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल गरेको हो ।

बैठकमा पार्टीको संरचना तल्लो तहसम्म लैजानुपर्ने, पार्टीभित्रको आन्तरिक विवाद तत्काल टुङ्ग्याउनुपर्ने, सरकारको गलत क्रियाकलापलाई जनतासम्म लैजानुपर्नेलगायतका विषयमा कुरा उठेको पार्टीबाट केन्द्रीय प्रतिनिधिका रूपमा धनकुटा खटिएका नेता दीपक खड्काले जानकारी दिए । छलफल तथा अन्तरक्रियामा केन्द्रीय प्रतिनिधिले जागरण अभियानका क्रममा जिल्लाका नेता तथा कार्यकर्ताले दिएको राय सुझावलाई सभापति, पदाधिकारी तथा पूर्व पदाधिकारी समक्ष राखेका छन् ।

अभियानका क्रममा कांग्रेसले एक महिनासम्म सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजार बढी बैठक, भेला, सभा, र्‍याली, विचार–बहसलगायत कार्यक्रम गरेको थियो । छलफल तथा अन्तरक्रियामा उठेका विचारलाई असार २२ देखि शुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा छलफलमा लैजाने कांग्रेसले जनाएको छ । कांग्रेसले दोस्रो चरणको जागरण अभियान आगामी भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको जागरण अभियान पुस ७ देखि १६ सम्म सञ्चालन गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७