इखले सफलता , सांसद शान्ता चौधरी ‘बी ग्रेड’ मा एसईई उत्तीर्ण


१२ असार २०७६, बिहीबार
Shanta

काठमाडौं, १२ असार । इखलाई उपलब्धीका लागि प्रयोग गर्न सक्यो जान्यो भने ठूलो सफलता पाउन सकिन्छ भन्ने कुराको उदाहारण प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले देखाउन सफल भएकी छन् । 

सार्वजनिक भएको नतिजाअनुसार उनले २.६५ जीपीए ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् । आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।

भर्खरै सार्वजनिक भएको एसईई २०७५ को नतिजा अनुसार सांसद चौधरी ‘बी’ ग्रेडमा उत्तीर्ण भएकी छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गरेको हो । एसईई नतिजामा उत्तीर्ण भएसँगै सांसद चौधरीको चर्चा र उनको सफलता र लगावको चर्चा शुरु भएको छ । शान्ता चौधरीले दाङबाट एसईई परीक्षा दिएकी थिइन् ।

२०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन् । अनि खुला विद्यालयमा भर्ना भइन् ।

नियमिततर्फ महेन्द्र आधारभूत विद्यालय, तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययनरत चौधरीको सिम्बोल नम्बर ०५८८४५३ भी) हो । उनी नेकपा संसदीय दलका सचेतक समेत हुन् । बाल्यकालदेखि विद्यालय देखे पनि जान नपाएको र किताब छोए पनि पढ्न नपाएको उनले गुनासो गर्दै आएकी थिइन् । सामाजिक काम गर्दागर्दै राजनीतिको उचाइमा पुगेकी नेतृ चौधरीलाई पछिल्लो समय पढ्नै पर्ने बाध्यता आइलाग्यो । नेताहरू पढ्दैनन् भन्ने भनाइले उनलाई पटक–पटक घोच्यो र विद्यालयमा भर्ना भइन् ।

२०६४ सालमा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढ ेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उनले पढाइको महत्व बुझिन् र पढ्नतिर लागिन् । केही वर्ष स्वाध्ययन गरेपछि औपचारिक शिक्षा र प्रमाणपत्र लिएरै पढाइ पूरा गर्ने रहर लागेपछि अप्ठेरो नमानेरै विद्यालयमा भर्ना भएको उनी बताउँछिन् ।

यस वर्षको नतिजाअनुसार सामुदायिक र निजी विद्यालयका गरी कुल ४ लाख ५९ हजार २ सय ७५ जना उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयका ३ लाख २५ हजार ३३० र निजीका १ लाख ३३ हजार ९४५ जना उत्तीर्ण भएका छन् ।

संघीय संरचना अनुसार गरिएको परीक्षामा मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । जसमा छात्रा तर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र तर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी सहभागि थिए ।

एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यस पटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक–फरक बनाएर परीक्षा लिइएको थियो ।

२०७५ चैत्र १० गतेबाट परीक्षा सुरु भएको थियो । देशभर कुल परीक्षा केन्द्र १९६९ तोकिएको थियो । प्रदेश नं १ बाट – ८३ हजार ६ सय १८, प्रदेश नं २ बाट– ७० हजार ५ सय १८, प्रदेश नं ३ बाट – १ लाख हजार दुई, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट– ७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट – ३५ हजार ६ सय ३४ र सुदुरपश्चिम प्रदेशबाट – ५३ हजार ९ सय ७२ विद्यार्थी परीक्षामा सहभागी थिए ।

परीक्षाको लागि २९ हजार ५ सय ३५ सुरक्षकर्मी परिचालन गरिएको थियो । अनिवार्य छ वटा विषयको प्रदेश अनुसार फरक प्रश्नपत्रको व्यवस्था गरिएको थियो । नतिजा प्रदेश अनुसार छुट्टाछुट्टै र एकै पटक सार्वजनिक गरिएको छ । गत वर्ष असार ९ गते रिजल्ट भएको थियो । यस वर्षको परीक्षामा प्रदेश–२ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७