चिनजानकै साथी थिए प्रहरी र प्रशान्त, एकले अर्कालाई ‘झुक्याउँदा झुक्याउँदै’ मारिए दुबै


२५ असार २०७६, बुधबार
BHOJPUR INCOUNTAR POLIICE AND BIPLAB

काठमाडौं, २५ असार :  भोजपुर सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयबाट करीब ५ सय मिटर तल मात्रै पर्छ, हटिया । शनिबार र बुधबार लाग्ने यो हटियामा मुलतः तरकारीको व्यापार हुने गर्छ । बुधबार बिहानैदेखि भोजपुर सदरमुकाममा बाक्लो असारे झरी परिरहेको थियो । बाक्लो कुहिरो लागेको थियो । झरीको कारण बजारबासीहरु बजार झरेका थिएनन् । व्यापारीहरु मात्रै ओतिएर बसिरहेका थिए, बजारका साना छाप्राहरुमा ।

बिहान करीब ८ बजेतिर जिल्ला प्रहरी कार्यालयमा खबर खायो, ‘हटियाको पाँचघरे होटलमा विप्लवका नेता तथा कार्यकर्ताहरु बसिरहेका छन् ।’ त्यो खबर सही थियो । हटियाको पश्चिमतर्फ बसपार्क अघिको होटलमा नेत्रविक्रम चन्द ‘विप्लव’ का ओखलढुङ्गा जिल्ला इञ्जार्ज नीरकुमार राई ‘प्रशान्त’ लगायतका विप्लवका कार्यकर्ताहरु थिए ।

जिल्ला प्रहरी कार्यालयमा यो खबर गर्ने अरु कोही नभएर भोजपुरमा विप्लव समूहको गतिबिधि बारेमा जानकार घुमुवा प्रहरी जवान सञ्जीव राई थिए । विप्लवका कार्यकर्ताहरु होटलमा रहेको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा प्रहरीहरु खटाइए । प्रहरीहरु खेमनाथ भट्टराई, सुरेन्द्र माझीलगायतका प्रहरी टोली बसपार्क पाँचघरे होटल पुग्यो ।

साथी थिए, एकले अर्कालाई ‘झुक्याउँदा झुक्याउँदै’ मारिए दुबै

त्यसो उनीहरु परिचित मात्रै होइन साथी पनि थिए । प्रहरीमा भर्ना हुन अघिसम्म सन्जिव पनि माओवादी आन्दोलनसँग सामिप्य राख्ने मान्छे थिए । प्रशान्त त माओवादी जनयुद्धका कम्पनी कमाण्डर ।

स्थानीय र प्रत्यक्षदर्शीहरुलाई उधृत गर्दै स्थानीय पत्रकार बुद्ध तामाङ्गले जानकारी दिए अनुसार प्रहरी जवान सञ्जिव ‘मर्निङ्ग वाक’मा निस्किएका थिए । ‘मर्निङ्ग वाक’मा निस्किएका राईलाई विप्लव समूहका इञ्चार्ज ‘प्रशान्त’ले भोजपुर बजारको बैंक रोडदेखि नै पिछा गरेका थिए ।

हटियानिर पुग्दा प्रहरी जवान राईले पनि विप्लव समूहका इञ्चार्ज ‘प्रशान्त’ले पिछा गरेको थाहा पाए । र, त्यही उभिए । दुबै जनाको भेट भयो । उनीहरु पुरानै चिनजानका थिए । प्रशान्तलाई प्रहरी जवान राईले चिया खान जाने प्रस्ताव राखे । दुबै पाँचधरे होटलमा छिरे ।

होटलमा बस्ने ठाउँमा पर्दा लगाएर कुराकानी सुरु भयो । जवान राईलाई प्रशान्तले भन्दै थिए ‘मेरो पिछा कति गर्छौं ? मलाई पिछा गर्न छोडीदेऊ ।’ होटल सञ्चालकलाई उधृत गर्दै स्थानीय पत्रकार तामाङ भन्छन्,‘उनीहरु मिल्ने साथी जसरी कुरो गरीरहेका थिए ।’

कुराकानीकै बिचमा विप्लव समूहका इञ्चार्ज ‘प्रशान्त’लाई शंका लाग्यो,‘कतै मलाई पक्रिन त खोज्दै छैन ?’ उनी पिसाव फेर्न जान्छु भन्दै भाग्न खोजे । तर प्रहरी जवान राईले भने ‘तपाई नजानोस् मैले साथीहरु बोलाएको छु ।’ प्रहरी जवान राईले त्यसबेलासम्म प्रशान्तलाई पक्राउ गर्ने योजना अनुसार जिल्ला प्रहरी कार्यालयबाट टोली झिकाउन भ्याइसकेका थिए । प्रहरी जवान राई झुक्काएर नियन्त्रणमा लिन खोजिरहेका थिए भने प्रशान्त उनलाई छलेर भाग्न खोजिरहेका थिए । 

प्रहरी आउँदैछ भन्ने थाहा पाएपछि प्रशान्तले भाग्ने प्रयास गरे । प्रहरी जवान राईले प्रशान्तलाई झम्टिएर पक्रिए । नियन्त्रणमा लिन खोज्दा दोहोरो धक्कामुक्का शुरु भयो । त्यहीबिचमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोली पनि आइपुग्यो ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट आएका सादा पोशाकका प्रहरी आएको देखे लगत्तै आत्तिएका प्रशान्तले प्रहरी जवान राईमाथि गोली  प्रहार गरीहाले । गोली लागेका प्रहरी जवान राई होटलको दराजमा ठोक्किएपछि ढलफलिदै सडकमा गएर ढले । करिब  बिहान ८ बजेर ४५ मिनेटमा गोली चलेको थियो ।

विप्लव नेता प्रशान्तले गोली प्रहरी जवान राईलाई गोली प्रहार गरेपछि जिल्ला प्रहरी कार्यालयबाट खटि आएको टोलीले जवाफी फायरमा गरे । प्रशान्तलाई पनि गोली लाग्यो । तर, विप्लव समूहले भने प्रहरी जवान राई र विप्लवका इन्चार्ज प्रशान्तबीच दोहोरो धक्कामुक्का भइरहेको बेला प्रहरी कार्यालयबाट आएको टोलीले गोली प्रहार गर्दा दुबै जना मारिएको दाबी गरेको छ ।

प्रत्यक्षदर्शीका अनुसार गोली लागेर ढलेर गाडीमा हाल्ने बेलासम्म प्रशान्त भने जिवित थिए । रगताम्मे भएर लडिरहेका प्रशान्तले भनिरहेका थिए,‘मलाई गाह्रो भयो नलैजा ।’ तर जिल्ला अस्पताल भोजपुरले लैजान साथ मृत घोषणा गरेको थियो । स्रोतका अनुसार अत्याधिक रक्तस्राब भएर उनको बाटैमा ज्यान गएको हो । जिल्ला अस्पताल र घटनास्थल डेढ एक किलोमिटरको दूरीमा छ ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले विप्वलका कार्यकर्ताहरुले प्रहरी जवानमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायर गरेको बताएका छन् । भोजपुरका प्रहरी प्रमुख डिएसपी नरबहादुर सलामी मगरले विप्लवका कार्यकर्ताहरुले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको बताए ।

नीरकुमार राईको साथबाट एक थान चिनियाँ पेस्तोल, ६ राउण्ड गोली र सोही पेस्तोलको म्याग्जिन बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी खतिवडा र प्रहरीले भने प्रहरी जवान राईलाई विप्वलका नेता प्रशान्तले गोली हानेको दाबी गरेका छन् । तर, विप्लव समूहले भने प्रशान्त र प्रहरी जवान दुबै प्रहरीकै गोलीबाट मारिएको दाबी गरेका छन् ।

को हुन् ‘प्रशान्त’ ?

Prashanta rai
माइक समाएर बोल्दै प्रशान्त । तस्बिर : सामाजिक सञ्जाल

भोजपुरको षडानन्द नगरपालिका–१३ साबिकको बोया गाविसका नीरकुमार माओवादीका पुराना नेता हुन् । उनी तात्कालीन नेकपा माओवादी जनयुद्धमा माओवादी जनसेनाका कमाण्डर थिए ।
षडानन्द नगरपालिका–१३ बोयास्थित महेन्द्रोदय माविबाट एसएलसी पास गरेपछि २०५८ सालमा भूमिगत भएका थिए ।

तत्कालीन माओवादी जनयुद्धमा भोजपुर वोयाका दर्जनौं कमाण्डरहरु थिए । विप्लव माओवादीका तत्कालीन पोलिटव्युरो सदस्य पदम राई, पूर्व सांसद किरण राई, हालका विप्लव केन्द्रीय सदस्य दिपेश राईलगायतका नेताहरु उनै नीरकुमार राईका गाउँका हुन् । उनी माओवादी जनयुद्धमा समेत कम्पनी कमाण्डर थिए । उनी पूर्व माओवादी निकट अखिल क्रान्किारीका केन्द्रीय सदस्य भएका थिए ।

माओवादी विभाजित भएपछि उनी मोहन वैद्य ‘करण’ समूह तिर लागेका थिए । तर, वैद्य नेतृत्वको पार्टी फेरि फुटेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा लागे । पछिल्लो समय उनी ओखलढुङ्गाको इन्चार्ज बनेका थिए ।

श्रीमती भेट्न जाँदा मारिए
उनलाई चिन्नेहरुका अनुसार उनी केही दिनयता भोजपुर सदरमुकामतिरै घुमिरहेका थिए । भोजपुर धोदलेखानी विहे गरेका राईकी श्रीमती भोजपुरमा बस्दै आएकी थिइन् । साथीभाइलाई भेट्दा पनि राईले श्रीमती भेट्न आएको केही दिनपछि फर्किने बताएका थिए । बसपार्कलाई केन्द्र बनाएर उनले भोजपुर बजारमा गतिबिधि गरीरहेका थिए । 

सांसद सुदन किरातीका सुरक्षा गार्ड थिए, जवान सञ्जीव

Sanjib Rai
प्रहरी जवान राई

प्रहरी जवान राई भोजपुरका सांसद सुदन किराती जिल्ला गएको बेला सुरक्षागार्डको रुपमा खटिने गरेका थिए । सादा पोसाकमा घुमुवा समूहमा काम गर्ने जवान राई मिलनसार र सहयोगी थिए ।

निर्वाचन ताका सांसद किरातीसँगै हिडेका थिए, प्रहरी जवान राई । सांसद किरातीले भने,‘उनी असाध्यै मिलनसार र असल थिए । भोजपुर गएको बेला मसँगै हिड्थे ।’ त्यसो प्रशान्त पनि सांसद किरातीका कुनै समयका सहयोद्धा नै थिए । 

खोटाङ च्यास्मीटार स्थायी घर भएका प्रहरी जवान राई संखुवासभाको सिलिचुङमा प्रहरी र विप्लवबीच भएको दोहोरो भिडन्तपछि मात्रै भोजपुर आएका थिए । उनका दुई छोरा र श्रीमती छन् । उनले केही समयअघि मात्रै छोराहरुलाई पढाउनको निम्ती धरान लगेका थिए । उनका नजिकका साथीभाईका अनुसार छोराको भबिष्य बारेमा उनी चिन्तित थिए । उनले भन्ने गरेका थिए,‘यिनिहरुलाई चै देशको गतिलो मान्छे बनाउने हो ।’


भोजपुरमा तीन जना मारिए
गत जेठ ७ गते ट्याम्के–मैयुङ गाउँपालिकाको धोद्रे जङ्गलमा प्रहरीको गोली लागेर भोजपुरकै कुदाककाउलेका तीर्थराज घिमिरे ‘राजु’ मारिएका थिए । बुधबारको घटनासँगै विप्लवमाथि प्रतिबन्ध लगाएपछि मारिनेको संख्या तीन पुगेको छ ।

यसअघि विप्लवका कार्यकर्ताहरुले असार १८ गते ट्याम्के–मैयुङ–१ को वडा कार्यालयमा आगजनी र तोडफोड समेत गरेका थिए ।

महानिरीक्षक खनाल भन्छन्, ‘जवाफी फायर’
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जवाफी फायरमा नीरकुमार राई मारिएको बताएका छन् । बुधबार भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जवाफी फायरमा विप्लव समूहका नेता मारिएको जानकारी दिए ।

भने, ‘प्रहरी जवान सञ्जीव राईको छातीमा गोली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज नीरकुमार राईलाई पनि गोली लाग्न पुग्यो,।’ 

घटनामा प्रहरी जवान थमनाथ भट्टराईको काँधमा गोली लागेको समेत खनालले जानकारी दिए । उनले सो क्रममा ठूलो चाइनिज पेस्तोल एक थान, त्यसको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने छ राउण्ड गोली बरामद भएको पनि उनले बताए ।

(भोजपुरका स्थानीय पत्रकार बुद्ध तामाङको सहयोगमा)

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७