अस्वस्थ सरकारी कर्मचारीलाई अवकाश दिइँदै
काठमाडौं, ३० असार । सरकारले शारीरिक तथा मानसिक रुपमा अस्वस्थ कर्मचारीलाई सात वर्षे सेवा सुविधा थप गरी अनिवार्य अवकाश दिने भएको छ ।
सरकारले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पेश गरेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा शारीरिक तथा मानसिक रुपमा अस्वस्थ भएका कर्मचारीलाई ७ वर्षको सेवा सुविधा थप थरी अवकाश दिने व्यवस्था गरिएको हो ।
समितिको सोमबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बहालवाला कर्मचारी शारीरिक तथा मानसिक रुपमा अशक्त भएमा उसलाई ७ वर्षको सेवा सुविधा थप गरी अवकाश दिने कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिए ।
सरकारले कार्य क्षेत्रमै शारीरिक तथा मानसिक रुपमा अशक्त भएका कर्मचारीलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था पनि गरेको छ । उनीहरुको अवस्थालाई हेरेर मन्त्रीपरिषद् बैठकले पनि विशेष व्यवस्था गर्ने प्रावधान पनि विधेयकमा समावेश गरिएको मन्त्री पण्डितले जानकारी दिए ।
बैठकमा समितिका सदस्यहरुले सरकारले पेश गरेको सो विधेयकमा सहमति जनाएका थिए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले शारीरिक तथा मानसिक रुपमा अशक्त कर्मचारीलाई ७ वर्ष सेवा सुविधा थप गरी अवकाश दिने गरी सरकारले ल्याएको सो विधेयकको प्रावधानमा आफ्नो पार्टी सहमत रहेको बताएकी छन् ।
सत्तारुढ नेकपाकी सांसद पम्फा भुसालले अशक्त कर्मचारीहरुलाई राज्यले सेवा सुविधा दिनुपर्ने भएकाले पनि सरकारले विधेयकमा ल्याएको सो प्रावधानको विपक्षमा उभिनु पर्ने कुनै कारण नरहेको बताएकी छन् ।
उनले निजामती कर्मचारीहरुलाई मात्रै नभई राज्यले सामान्य नागरिकको पनि उपचारको जिम्मेवारी लिनुपर्नेमा जोड दिइन् । सांसद भुसालले निजामती कर्मचारीहरुले काम गर्न नसक्ने अवस्था आएमा उनीहरुलाई अवकाश लिने व्यवस्था गर्न उपयुक्त हुने धारणा पनि राखिन् ।