राखेपको मान्यता प्राप्त सङ्घलाई मात्र ओलम्पिक कमिटीमा मान्यता


३१ असार २०७६, मंगलवार
rakhepa sCKYNJq61p

काठमाडौं, ३१ असार । राष्ट्रियसभा, विधायन समितिमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले मान्यता दिएको खेल सङ्घलाई मात्र नेपाल ओलम्पिक कमिटीले मान्यता दिनुपर्ने विषयमा छलफल भएको छ ।

राष्ट्रिय खेलकुद विकास विधेयकबारे समितिमा आज भएको छलफलमा सांसदहरूले खेलक्षेत्रलाई अनुशासित एवम् मर्यादित बनाउन राखेपमा दर्ता भएका सङ्घलाई मात्र नेपाल ओलम्पिक कमिटीले मान्यता दिनुपर्ने बताएका हुन् ।

सांसद रामनारायण विँडारीले नेपाल ओलम्पिक कमिटीले खेल सञ्चालनका लागि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)को नियमानुसार लागू भएता पनि कमिटीको सञ्चालन भने सरकारको निगरानीमा हुनुपर्नेमा जोड दिए । उनले जुनसुकै प्रतियोगिताको खेल अन्तर्राष्ट्रिय नियमानुसार सञ्चालन भए पनि खेल संस्था भने प्रचलित कानूनअनुसार नै चल्नुपर्ने भनाइ व्यक्त गरे ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले हरेक खेलको एक मात्र सङ्घ हुनका लागि विशेष ऐन ल्याउनुपर्नेमा जोड दिए । उनले एकै प्रकृतिका दुई वा दुईभन्दा बढी सङ्घ रहेकाले खेल क्षेत्र निकै विवादित बन्दै गएको भन्दै यसको निरुपणका लागि छुट्टै ऐनको आवश्यकता रहेको बताए ।

त्यस्तै समितिको आगामी बस्ने बैठकले सांसदहरूले आज दिएका सुझावलाई समेटेर विधेयकलाई निष्कर्षमा पुर्‍याउने सभापति परशुराम मेघी गुरुङले बताए । उनले बैठकमा खेलकुद सङ्घ, ओलम्पिक कमिटी र परिषद्बीचको अन्तर सम्बन्धलाई व्यवस्थित गर्न सरोकारवालासँग थप छलफल आवश्यक रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७