तीन वटा लौकाको विषादी परीक्षण शुल्क ८७ हजार !
काठमाडौं, २५ साउन । तरकारीमा रहेको विषादी परीक्षण गर्न शुल्क कति लाग्ला ? जोकोही पनि अनुमान गर्ला, केही सय वा बढीमा हजार रुपैयाँसम्म । तर, यहाँ एक सरकारी निकायमै भएको तरकारीको विषादीमा परीक्षणको शुल्क ८७ हजार रुपैयाँ निर्धाण गरिएको छ । यति ठूलो रकमको बिल आएपछि परीक्षण गर्न पठाउने अर्को सरकारी निकायका पदाधिकारी पनि चकित भएका छन् ।
केही दिनअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारबाट संकलन गरिएको लौकाको विषादी परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाएको थियो । खाद्य विभागले पनि वाणिज्यबाट आएको तीनवटा लौकाको विषादी परीक्षण गर्न राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला पठाएको थियो ।
परीक्षणपछि खाद्य विभागले ८७ हजारको शुल्कसहितको बिल वाणिज्य विभागलाई पठाएको हो । परीक्षण रिपोर्टमा प्रयोगशालामा ३ वटा लौकामा २९ किसिमका विषादी अवशेष रहे–नरहेको परीक्षण गरिएको उल्लेख छ । प्रतिपरीक्षण १ हजारका दरले ८७ हजार रुपैयाँ शुल्क लागेको व्यहोरासहितको पत्र खाद्य विभागले वाणिज्य विभाग पठाएको हो ।
तीन लौकाको विषादी परीक्षण शुल्क ८७ हजार रुपैयाँ आएपछि वाणिज्य विभागका अधिकारी आत्तिएका छन् । ‘उपभोक्ताले लौका खाँदा अस्वस्थ भएको उजुरी गरेपछि परीक्षणका लागि पठाएका थियौँ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘परीक्षणबापतको शुल्क तिर्छौँ भनेरै पठाएका थियौँ, तर यति ठूलो रकम तिर्नुपर्ला भन्ने सोचिएको थिएन ।’
उनले सरकारी निकायकै प्रयोगशाला प्रयोग भएकाले आपसी छलफल गरेर शुल्क भुक्तानी गर्ने बताए । यता, खाद्य विभागका निमित्त महानिर्देशक मतिना वैद्यले सरकारबाट स्वीकृत दररेटकै आधारमा शुल्क निर्धारण गरिएको बताइन् ।
‘एउटा विषादी अवशेषको परीक्षण शुल्क १ हजार रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भनिन्, ‘तीन वटा लौकामध्ये प्रत्येकको २९ वटा विषादी अवशेष परीक्षण गरिएको छ । जसकारण कुलशुल्क ८७ हजार रुपैयाँ हुन पुगेको हो ।’ उनले प्रयोगशाला शुल्क परिमार्जनका क्रममा रहेको जानकारी समेत दिइन् ।
१६ दिनपछि रिपोर्ट तयार
वाणिज्य विभागले प्रयोगशालामा परीक्षणका लागि लौका दिएको १६ दिनपछि मात्र रिपोर्ट प्राप्त गरेको जनाएको छ । ‘हामीले लौका जाँच्न दिएको १६ दिनपछि मात्र रिपोर्ट पायौँ,’ एक कर्मचारीले भने, ‘त्यो पनि बारम्बार ताकेता गरेपछि मात्र उपलब्ध भयो ।’ वाणिज्यले लौकाको विषादी परीक्षण गर्न ६ साउनमा पठाएको थियो । खाद्य विभागले २२ साउनमा रिपोर्ट दिएको हो ।
वाणिज्य विभागका अनुसार एक उपभोक्ताले नख्खुस्थित खाद्य संस्थानको गोदामअगाडि रहेको तरकारी बजारबाट लौका खरिद गरेर लगेका थिए । उक्त लौका खानासाथ वाकवाकी लाग्नुका साथै पखाला लाग्यो । अर्को साथीले पनि सोही पसलबाट लौका लगेर खाएको र बिरामी परेर अस्पताल भर्ना भएको उजुरी वाणिज्य विभागमा दर्ता भएको थियो ।
लौका खाएर बिरामी परेको उजुरी आएपछि विभागले सो तरकारी पसलबाट तीन लौका ल्याएको थियो । त्यसपछि उक्त लौका खाद्यको प्रयोगशालमा परीक्षण गरी प्रतिवेदन दिन पत्राचार गरिएको हो । नयाँ पत्रिका दैनिकबाट