बहालवाला मन्त्रीलाई पक्राउ गर्न उच्च अदालतको आदेश


२८ श्रावण २०७६, मंगलवार
mantri

काठमाडौंं, २८ साउन । फर्जी बैंक ग्यारेन्टीमा जमानी बसेका कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन उच्च अदालत पाटनले आदेश दिएको छ ।

कृषि विकास बैंक रत्नपार्क जाहेरवाला रहेको बैंकिङ कसुर मुद्दामा मन्त्रीकै नाम प्रतिवादी कायम भई आएपछि उनलाई पक्राउ गरी अदालत ल्याउन आदेश जारी भएको उच्च अदालतले जनाएको छ ।

न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले मन्त्री पक्रन गर्न सोमबार आदेश दिएको हो । मन्त्री खत्री आफैं ठेकेदार हुन् । मन्त्री खत्रीको केएसके नामक कन्स्ट्रक्सन कम्पनी सुर्खेतमा छ ।

५५–५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा उनी साक्षी बसेका थिए र प्रहरीले उनको बयान पनि संलग्न राखेको थियो । बैंक ग्यारेन्टीमा ठेकेदार रणवीर तुम्बा र देवजंग शाहीको प्रत्यक्ष संलग्नता थियो । सो मुद्दामा तुम्बा, शाही र बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकाललाई प्रहरीले पक्राउ गरी अदालत पेश गरेको थियो ।

प्रहरीले प्रतिवादी कायम गरी पठाइएका मन्त्री खत्री र अर्का राजुप्रसाद श्रेष्ठ उपस्थित नदेखिएपछि यस्तो आदेश जारी भएको प्रवक्ता मोहन सुवेदीले बताएका छन् । ‘मुद्दामा प्रतिवादी बनाइए पनि मान्छे पक्राउ नपरेकाले मन्त्री भएको भए तीन दिनभित्र उपस्थित गराउने आदेश भएको हो,’ सुवेदीले सुनाए ।

साधारण व्यक्ति भए अदालतले आफैं पक्राउको म्याद जारी गर्ने गर्छ । सार्वजनिक पद धारण गरेको व्यक्ति भएकालाई पक्राउ गर्न कठिनाइ नरहेका कारण तीन दिनको आदेश जारी भएको प्रवक्ता सुवेदीले बताएका छन् । श्रेष्ठको हकमा भने अदालतले म्याद जारी गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७