शालिकराम पत्नीले दिइन् रवि लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी


१ भाद्र २०७६, आईतवार
rabi lamichhane

काठमाठाैं, १ भदौं । माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध पुडासैनीको परिवारले किटानी जाहेरी दिएका छन् ।

लामिछानेका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुङ्गाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

मृतक पुडासैनीको पत्नी श्रीमती सम्झना घिमिरे पुडासैनीले प्रहरीमा आफैं उपस्थित भई किटानी जाहेरी दिएकी हुन् । किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले आत्महत्या गर्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् । शनिबार १३ दिनको काजक्रिया सकेर आइतबार उजुरी दिइएको परिवारले जनाएको छ ।

२० साउनमा चितवनको नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा उनीहरु तीन जनाका कारण आफूले आत्महत्या गरेको बताएका छन् ।

उक्त भिडियो केही दिनअघि सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो । त्यसलगत्तै प्रहरीले लामिछाने र कँडेललाई उनीहरु कार्यरत न्यूज २४ टेलिभिजनको कार्यालय पानीपोखरी र कार्कीलाई कलंकीबाट पक्राउ गरेको थियो ।

चितवन जिल्ला अदालतले उनीहरु सबैलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । लामिछाने समर्थकले भरतपुरमा जम्मा भएर उनीहरुमाथि छानबिन र कारबाही नगर्न दबाब दिइरहेका छन् । त्यस क्रममा उनीहरुले जिल्ला प्रहरी कार्यालयमा समेत तोडफोड र ढुङ्गामुढा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७