प्रधानमन्त्री फेरि उपचारका लागि सिङ्गापुर जाँदै, कार्यवाहक अध्यक्षकाे जिम्मेवारी प्रचण्डलाई


१ भाद्र २०७६, आईतवार
kp oli Prime Minister of Nepal. He is the Chairman of the Nepal Communist Party 2

काठमाडौं, १ भदौं । नौं दिनसम्म सिङ्गापुरमा उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि उपचारका लागि सिङ्गापुर जाने भएका छन् ।

उपचार गराएर फर्किएको एक साता नबित्दै प्रधानमन्त्री ओली थप उपचारका लागि सिङ्गापुर जान लागेका हुन् । प्रधानमन्त्री भदौ ४ वा ५ गते सिङ्गापुर प्रस्तान गर्ने स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओली सिङ्गापुर गएका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहालले कार्यवाह अध्यक्षकाे रुपमा जिम्मेवारी सम्हाल्ने पनि स्रोतले जनाएको छ ।

१२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि खाइरहेका छन् । प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर विभिन्न टीप्पणीहरु समेत भएका छन् । तर, प्रधानमन्त्री ओलीले आफू सामान्य रहेको स्पष्ट पारिसकेका छन् । तर, पनि प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर चासो भने जारी रहेको छ ।

अघिल्लो साता सिङ्गापुरमा चलाइएको नयाँ औषधिको ‘इफेक्ट’ बारे थप जाँचका लागि सिङ्गगापुर जानु पर्ने समाचार स्रोतको भनाई छ । प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य जाँचका लागि सिङ्गापुर गएका थिए । साउन १९ देखि एक सातासम्म उनी अस्पतालमै रहेका थिए । तोकिएको समयभन्दा एक दिन ढीलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किए ।
कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ?

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर जन मानसमा अनेक खालका चिन्ता प्रकट भइरहेका छन् । मुलुकको कार्यकारी प्रमुखको स्वास्थ्य स्थितिबारे आम नागरिकमा यस्तो चिन्ता प्रकट हुनु स्वाभाविकै हो । तर, प्रधानमन्त्रीको सचिवालयले यसबारेमा औपचारिक जानकारी दिनभन्दा पनि सूचनालाई गोप्य राख्न खोज्दा जनमानसमा आशंका उब्जिने गरेको छ ।

आजभन्दा १२ वर्ष पहिले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो । उनलाई भाइबुहारी अञ्जना घिमिरेले मृगौला दिएकी हुन् । चिकित्सकहरुका अनुसार मृगौला प्रत्यारोपण गरिएको मानिसले लगभग जीवनभर औषधि खाइरहनु पर्छ । सामान्यतः १० वर्षमा पुरानो औषधि बन्द गरेर नयाँ औषधि चलाउने प्रचलन छ ।

उच्च सरकारी स्रोतका अनुसार अघिल्लो साता सिंगापुर गएका बेला प्रधानमन्त्री ओलीलाई नयाँ औषधि चलाइएको छ । साथै चिकित्सकहरुले हालै बुहारी अञ्जनाको पनि स्वास्थ्य जाँच गरेका छन् ।

पुरानो औषधिका ठाउँमा नयाँ औषधि प्रयोग गर्दा यसले काम गर्छ कि गर्दैन भनेर चिकित्सकले अवलोकन गर्छन् । नयाँ औषधिले राम्रोसँग काम गरेन वा शरीरमा ज्वरो आउनेलगायतका जटिल लक्षणहरु देखिए भने साइट इफेक्ट भएको मानिन्छ । त्यस्तो बेलामा पुरानो औषधितिरै फर्किनुपर्ने वा अन्य उपचारका तरिकाहरु अवलम्वन गर्नुपर्ने हुन सक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७