मनसुन ढिलो भित्रिए पनि गएको वर्षकै हाराहारीमा रोपाईं


३ भाद्र २०७६, मंगलवार
khet

काठमाडौं, ३ भदौं । झण्डै एक साता ढिलो गरी मौसम प्रणाली भित्रिए पनि यस वर्ष गएको वर्षकै हाराहारीमा रोपाई सम्पन्न भएको छ । यही आइतबारसम्म ९४.४३ प्रतिशत भूभागमा रोपाई सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।

गएको वर्षको तुलनामा यस वर्ष ०.९६ प्रतिशतले रोपाईंमा कमी आएको छ । गएको वर्ष यही अवधिमा ९५.३९ प्रतिशत भू–भागमा रोपाईं सम्पन्न भएको थियो । यस्तै आइतबारसम्म प्रदेश नं १ मा ९३.४९ प्रतिशत रोपाईं सम्पन्न भएको छ ।

प्रदेश १ मा गएको वर्ष ९४.४४ प्रतिशत रोपाईं भएको थियो । मुख्य धान क्षेत्र मानिएको प्रदेश नं २ मा गएको वर्षको तुलनामा झिनो मात्रामा रोपाईं बढेको छ । प्रदेश नं २ मा गएको वर्ष ९३.१७ प्रतिशत रोपाईं भएकामा यस वर्ष ९३.३१ प्रतिशत रोपाईं भएको केन्द्रले जनाएको छ ।

प्रदेश नं ३ मा पनि गएको वर्षको तुलनामा रोपाईं बढेको छ । गएको वर्ष ९४.२२ प्रतिशत रोपाईं भएकामा यस वर्ष ९६.९५ प्रतिशत रोपाईं सम्पन्न भएको छ । गण्डकी प्रदेशमा भने रोपाईं घटेको छ । यो प्रदेशमा गएको वर्ष ९६.८७ प्रतिशत रोपाईं भएको थियो । यस वर्ष झण्डै आठ प्रतिशतले रोपाईं खुम्चिएको छ । आइतबारसम्म गण्डकी प्रदेशमा ८८.९२ प्रतिशत मात्र रोपाईं भएको छ ।

यसैगरी प्रदेश नं ५ र कर्णाली प्रदेशमा क्रमशः ९४.३९ र ९६.१६ प्रतिशत रोपाईं सम्पन्न भएको केन्द्रले जनाएको छ । गएको वर्ष ती प्रदेशमा क्रमशः ९६.१९ र ९८.३९ प्रतिशत रोपाईं भएको थियो । सुदूरपश्चिम प्रदेशमा भने गएको वर्षकै बराबर अर्थात् १०० प्रतिशत क्षेत्रमा रोपाईं सम्पन्न भएको छ ।

पूर्व क्षेत्रका तुलनामा पश्चिमी क्षेत्रमा रोपाइँ बढी भएको केन्द्रले जनाएको छ । प्रदेश नं १, २ र ३ मा बढी वर्षा हुने अनुमान गरिए पनि पश्चिमी प्रदेशमा बढ्ता वर्षा भएको मौसम पूर्वानुमान विभागले जनाएको छ ।

पश्चिमी भेगमा वर्षा बढेकाले रोपाईंको प्रतिशत बढेको हो । विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले पूर्वी क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा बढी वर्षा भएको बताए ।

गएको वर्षको तुलनामा यस वर्ष मनसुन केही ढिला शुरु भएको थियो । नियमित अवस्थामा जुन १० तारिखबाट नेपालमा मनसुन भित्रिनुपर्नेमा यस वर्ष झण्डै एक साता ढिला मनसुन प्रणालीको विकास भएको विभागले जनाएको छ । ‘यस वर्ष भारी वर्षा नभई औसत वर्षा भएको पाइएको छ’, वरिष्ठ मौसमविद् पौडेलले भने, ‘समग्रमा मुलुकभर यस वर्ष एक हजार ५०० मिलिमिटर वर्षा भएको छ ।’

कूल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा रोपाईं गर्न सकिने भए पनि यस वर्ष १२ लाख ९५ हजार २८२ हेक्टर क्षेत्रमा रोपाईं सम्पन्न भएको केन्द्रले जनाएको छ । सिंचाइ प्रणालीको भरपर्दो व्यवस्था नहुँदा अधिकांश क्षेत्रका किसान आकाशे पानीको भर पर्न बाध्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७