सेनामा नयाँ नियम, अधिकृतहरु निरास


८ भाद्र २०७६, आईतवार
army chief

काठमाडौं, ८ भदौं । नयाँ सेनापतिसँगै लागू हुने नयाँ नियमका कारण नेपाली सेनामा अधिकृतहरुको करिअर अनिश्चित हुन थालेको छ । बढुवा तथा तालिमसम्म प्रावधानहरु सेनापति परिवर्तन भएसँगै नेपाली सेनामा फेरिन थालेका छन् ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि नीतिगत रुपमा धेरै हेरफेर गरिसकेका छन् । उनले शुरुमा फाष्ट ट्रयाक बढुवा प्रणाली हटाए । गौरव शमशेर राणा सेनापति हुँदा सेनामा यो बढुवा प्रणाली लागू गरिएको थियो ।

निश्चित पदमा बरिष्ठता भन्दा कार्यक्षमता हेरेर बढुवा गर्ने भन्दै पावरफुल अधिकृतहरुको फास्ट ट्रयाक शैलीमा बढुवा गर्न थालियो । जसकारण ठूलो संख्यामा सैनिक अधिकारीहरु बढुवा नभई रुँदै घर जानुपर्ने अवस्था हो । कतिपय त अदालत समेत पुगे । प्रधानसेनापति थापाले त्यो नियम हटाए । यसलाई धेरै सकारात्मक रुपमा नै लिएका छन् ।

तर, थापाले लागू गर्न लागेको अर्काे प्रावधानले भने सेनामा असन्तुष्टि देखिएको छ । स्टाफ कलेज गरेका मेजरहरुलाई गुल्मको इञ्चार्ज नदिने नियम बनाएका छन् । स्टाफ कलेज पास गर्न नसकेकाहरुलाई नयाँ एउटा तालिम दिएर उनीहरुलाई मात्र गुल्मपति बनाउने नियम कार्यान्वायनमा अघि बढेको छ । यसले सेनामा क्षमतावान जनशक्तिमाथि अन्याय गरेको भनेर सेनापतिको आलोचना भएको छ ।

स्टाफ कोर्स नगरेका अधिकृतहरु मेजरबाट माथि बढुवा हुन पाउँदैनन् । स्टाफ कोर्स गर्न नसके पनि कतिपय राम्रा अधिकृत हुने र उनीहरुले जागिर छोड्ने सम्भावना रोक्न भन्दै नयाँ प्रस्ताव अघि बढाइएको हो । जसअनुसार स्टाफ कोर्स गरेका र भविष्यमा माथि पुग्ने अधिकृतहरुको भने गुल्मपति हुने सम्भावना न्यून भएको छ । जसले सेनामा निरासा छाएको छ ।

सेनामा अधिकृत तहमा भर्ना भएकामध्ये करिब आधाले मात्र स्टाफ कलेज गर्न सक्छन् । वर्षमा करीब एक सय अधिकृत सेनामा भर्ना हुन्छन् । तर, स्टाफ कलेजको कोटा नै करीब ५०–६० जनाको मात्र रहेको छ । जसअनुसार ठूलो संख्यामा सैनिक अधिकारी मेजरबाटै अवकाश पाउने खबर दृष्टि साप्ताहिकले छापेको छ । यस्तो अवस्थामा सेनापतिको नयाँ नियमले केहीलाई त राहत होला तर क्षमतावान अधिकृतहरु भने निरास भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७