कँडेलको बयान शुरु, रविको पनि आजै बयान

अभियोगपत्रमा के छ ?


९ भाद्र २०७६, सोमबार
ravi 2

चितवन, ९ भदौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलको बयान सोमबार शुरु भएको छ । आइतबार सोही अभियोगमा पक्राउ परेकीकी अस्मिता भनिने रुकु कार्कीको बयान लिइएको थियो ।

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार कँडेलको बयानपछि रवि लामिछानेको बयान शुरु गरिने छ । त्यसलगत्तै थुनछेक बहस शुरु हुने उनले जानकारी दिए ।

बहसका लागि वादीका पक्षबाट तीन सरकारी वकिलका साथै जाहेरवाला तथा प्रतिवादीका तर्फबाट पाँच–पाँच वकिलले बहस गर्ने जानकारी प्राप्त भएको र अन्य कानून व्यवसायी पनि थपिन सक्ने श्रेस्तेदार गिरीको भनाइ थियो । बहस सकिएपछि मात्र थुनछेक हुने–नहुने भन्ने आदेश जारी हुने बताइएको छ

पक्राउ परेकाहरुको समर्थनमा आइतबार प्रदर्शन भएपछि आज स्थानीय प्रशासनले अदालत र आसपासमा निषेधित क्षेत्र घोषणा गरी पाँच जनाभन्दा बढीलाई हिंडडुल गर्न रोक लगाएको छ । कडा सुरक्षा व्यवस्था हुँदा पनि विभिन्न चोकमा समर्थक जम्मा हुने क्रम शुरु भएको छ ।

मुलुकी अपराधसंहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुरमा उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको थियो । गत साउन २० गते नारायणगढको एक होटलमा पुडासैनीको झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

अभियोगपत्रमा के छ ?
लामिछानेले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुर अन्तर्गतको दफा १७७ तथा दफा १८५ को उपदफा (१) र (२) बमोजिमको कसूर अपराध गरेको देखिएको भन्दै अभियोगपत्रमा मागदाबी गरिएको छ ।

प्रहरीसँगको बयानमा अस्मिताले कँडेलसँग मिलेर पुडासैनीलाई बलात्कार मुद्दामा फसाई दिने धम्की दिएको कार्कीले स्वीकार गरेकी छन् । अस्मिताले न्यूज २४ टेलिभिजनको कार्यालयमा आफू गएको फोटो पुडासैनीलाई समेत पठाएकी थिइन् । फोटो पठाउँदै अब कार्यक्रममा प्रसारण गर्ने भनेर आफूले उनलाई बताएको बयानमा भनेकी छन् ।

अभियोगपत्रमा अस्मिताले न्यूज २४ टेलिभिजनको कार्यालयको फोटो समेत खिची मृतकको बारेमा कार्यक्रम प्रशारण गरिदिने भनी धम्की दिएको कुरा स्वीकार गरेकी तथा सो अनुसार निजले मृतकले आत्महत्या गर्नु भन्दा केही दिन अगाडि पठाएको सोही फोटो समेत मिसिलमा समावेश गरिएको छ ।
अभियोगपत्रमा कँडेलले आफ्नो कार्यक्रम छोडेर अर्को टिभीमा समानान्तर कार्यक्रम चलाउन गएको रिसिवी साँध्न कार्कीसँग मिलेर पुडासैनीलाई धम्क्याएको दाबी गरिएको छ । समाचार बनाउने क्रममा कँडेलले पुडासैनीलाई गाली गर्ने कुरा रवि लामिछानेको बयानबाट देखिएको अभियोगपत्रमा उल्लेख छ ।

यता रवि लामिछानेले आफूले पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन नगरेको भन्दै बयान दिएका छन् । तर, अभियोगपत्रमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की मिलेर पुडासैनीलाई मानसिक रुपमा विक्षिप्त हुने गरी मानसिक तनाव दिएको कारण सो दुःख सहन नसकी पुडासैनीले आत्महत्या गरेको उल्लेख गरिएको छ ।

रामप्रसाद रिमाल, जीता बराल, महादेव खत्री, यज्ञबहादुर कार्की, रिता केसी, विप्लव पोखरेल, उमेश पुडासैनीका कागजको व्यहोराबाट पनि जाहेरी तथा मृतकले रेकर्ड गरेको भिडियोको प्रतिवादी उपरको अभियोगको समर्थन र पुष्टि भएको देखिन आएको अभियोगपत्रमा दाबी गरिएको छ ।

पुडासैनी दुई हप्ताअघि चितवनको नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । मर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले आफूलाई मर्न बाध्य पारेको बताएका थिए ।

सोही आरोपमा साउन ३० गते रवि र युवराज पानीपोखरीस्थित न्यजू २४ कार्यालयबाट पक्राउ परेका थिए भने अस्मिता कार्की कलंकीबाट पक्राउ परेकी थिइन् । पुडासैनी मृत्यु प्रकरणपछि पक्राउ परेका लामिछानेको रिहाइको माग गर्दै भरतपुरमा दिनहुँ प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७