रवि लामिछानेसहित तीनै जनाको बयान सकियो, अब थुनछेक बहस


९ भाद्र २०७६, सोमबार
Rabi

चितवन, ९ भदौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा सोमबार जिल्ला अदालत चितवनमा रवि लामिछानेसहित तीनै जनाको बयान लिने काम सकिएको छ ।

आज जिल्ला अदालत चितवनमा न्यूज २४ का सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान लिएको हो । आइतबार अस्मिता कार्कीको बयान लिइएको थियो । बयान सकिएपछि सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुने जनाइएको छ ।

बयान लिएर बहस गर्ने काम आजै सकिए अदालतले के गर्ने भन्ने बारेमा फैसला गर्नेछ । बहसका लागि वकिलहरु धेरै भएकाले सोमबार नै सकिने नसकिने यकिन छैन । पक्ष विपक्षमा बहस सकिए उनीहरुलाई तारेखमा छोड्ने वा धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्नेमध्ये कुनै एक आदेश अदालतले दिन सक्छ ।

पुडासैनी गएको साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलयमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि साउन ३० गते तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले १० दिन लगाएर अनुसन्धान गरेपछि आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले आइतबार नै अदालतमा आत्महत्या दुरुत्साहनको मुद्धा दायर गरेसँगै अदालतले पक्राउ परेकाहरुको बयान लिन शुरु गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७