को–को बन्दै छन् एमालेबाट समानुपातिक सांसद ?


६ पुष २०७४, बिहीबार
uml office

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकतर्फको मतगणना सकिए पनि निर्वाचन आयोगले यसको अन्तिम परिणाम अझै सार्वजानिक गरेको छैन । दलहरूबीच राष्ट्रिय सभा गठनबारे मतभेद बढेपछि आयोग समानुपातिको अन्तिम परिणाम सार्वजनिक गर्नबाट केही पछि हच्केको छ । आयोगले अन्तिम परिणाम सार्वजानिक नगरे पनि कुन दलले कति सांसद पाउने भन्ने लगभग टुंगो लागिसकेको छ । प्राप्त मतका आधारमा सबैभन्दा ठूलो दल नेकपा (एमाले) ले समानुपातिकबाट प्रतिनिधिसभामा ४१ जना सांसद पाउने भएको छ ।

uml office
दलहरूले सामानुपातिकका उम्मेदवारहरूको बन्दसूची आयोगलाई बुझाइसकेका छन् र त्यो सूची आयोगले सार्वजनिक पनि गरिसकेको छ । त्यही बन्दसूचीमा आधारमा प्राप्त सिटलाई रोस्टरमा राखेर आयोगले समानुपातिकवाट सांसद बन्नेहरूको अन्तिम नाम टुंगो लगाउनुपर्नेछ । ३३ प्रतिशत महिलालाई छुट्ट्याउनुपर्ने कानुनी व्यवस्था छ ।

यसो गर्दा एमालेले प्रतिनिधिसभाको १२१ को ३३ प्रतिशत अर्थात् ३९ जना महिला अनिवार्य हुनुपर्छ । प्रत्यक्षतर्फबाट पद्मा अर्याल र पवित्रा निरौला दुई महिला निर्वाचित भइसकेकाले अब कम्तीमा पनि ३७ महिला समानुपातिकबाट ल्याउनुपर्ने हुन्छ । यसो गर्दा पुरुषको भागमा चार सिट पर्छ । त्यसमा रोस्टर अनुसार गर्दा पहिलो नम्बरमा रहेका खस आर्यबाट मुकुन्द न्यौपाने, आदिवासी जनजातीबाट विजय सुब्बा, मधेसीबाट मोतीलाल दुगड र दलितबाट रामप्रित पासवान पर्ने निश्चितजस्तै छ ।

बाँकी ३७ महिलामा प्रतिशतका आधारमा खस आर्यबाट बढीमा ११ जनासम्म पर्ने देखिन्छ । जसमा क्रमिक रूपमा राधा ज्ञवाली, बिना पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, मनकुमारी जीसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतमसम्म सांसद बन्ने देखिन्छ । त्यस्तै आदिवासी जनजातिबाट पनि १० जनासम्म पर्ने देखिन्छ । १० जना पर्दा अगाडि नाम रहेका आधारमा थममाया थापा, डा. शिवमाया तुम्बाहाम्फे, रामकुमारी झाक्री, बिना श्रेष्ठ, तुलसी थापा, नवीना लामा, शान्तिमाया तामाङ, कुमारी मेचे, विनादेवी बुढाथोकी, रणकुमारी बलम्पाकी मगरसम्म पर्ने सम्भावना छ ।

मधेसीबाट चार जना पर्ने देखिन्छ । जसमा जुलीकुमारी महतो, डा. पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, रेखाकुमारी झाको सम्भावना छ । दलितबाट पाँच जना पर्दा निरादेवी जैरु, विमला विश्वकर्मा, विमला विक, पार्वती विसुङ्के र सानु शिवा पर्ने पक्कापक्की देखिन्छ । त्यस्तै, मुस्लिमबाट कालिला खाम, पिछडिएको क्षेत्रबाट आशाकुमारी विक पनि सांसद बन्ने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७