‘फिरौती’ असुलीमा पक्राउ परेका गृहमन्त्रीका भाइको अदालतमा बयान


२६ भाद्र २०७६, बिहीबार
adalat

काठमाडौं, २६ भदौं । फिरौती रकम असुलीमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का साइँला भाइ नरेशकुमार थापासहित आठ जनाको बयान जिल्ला अदालत काठमाडौंमा चलिरहेको छ ।

मंगलबार सरकारी वकिल कार्यालयले मुद्दा बुझाएपछि बुधबारबाट प्रतिवादीहरूको बयान थालिएको अदालतले जानकारी दिएको छ । जिल्ला अदालतको चार नम्बर इजलासमा न्यायाधीश मेदिनीप्रसाद पौडेलले प्रतिवादीहरूको बयान लिने काम भइरहेको श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार एक प्रतिवादी फरार छन् । प्रहरीले थापासहित ९ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । पक्राउ परेकामध्ये थापासहितका ८ प्रतिवादीलाई बयान लिने काम भइरहेको तर सबैको नसकिएको श्रेष्ठले बताएका छन् ।

‘नरेशबहादुर भनिने नरेशकुमार थापा समेत ८ जना प्रतिवादीको बयान जारी छ, थापासँग लिइसकिएको छैन,’ श्रेष्ठले सुनाए अदालतमा बिहीबार पनि प्रतिवादीको बयान रहेको उनले बताएका छन् ।

गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा अहिले प्रहरी हिरासतमा छन् । निर्माण व्यवसायी शरदकुमार गौचन हत्यामा जेलमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेत समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आरोपमा प्रहरीले मुद्दा अघि बढाइपछि थापा आफैं प्रहरीको सम्पर्कमा पुगेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नरेशले निर्माण व्यवसायीलाई फोन गरेर ‘पैसा नदिए जे पनि हुने’ भन्दै धम्की दिने गरेको अनुसन्धानमा पाइएको जनाइएको छ । उनीमाथि आपराधिक लाभ लिने प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७