नेपालगञ्ज विमानस्थलमा मन्त्री पर्यटन भट्टराईमाथि खासमा के भएको थियो ?


२९ भाद्र २०७६, आईतवार
Bhattarai Yogesh

नेपालगञ्ज, २८ भदौ :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै ज्ञानेन्द्र शाहीको नेतृत्वका ३/४ जनाको एक समूहले गालीगलौज गरेका छन् ।

उनीहरुले मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्दै ‘मन्त्रीलाई राम धुलाई’ गरेको भन्दै प्रचार गरेका छन् । तर, मन्त्री भट्टराईले आफू विमानस्थलमा आइपुग्न १५ मिनेट ढीलो भएको भन्दै यात्रुलाई असुविधाप्रति क्षमायाचना गरेका छन् । युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई अपशब्द प्रयोग गर्दै भिडियो खिचेको हो ।

खासमा के भएको थियो ?
मन्त्रीका भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार मन्त्री भट्टराई शनिबार डलफिन महोत्सव कार्यक्रमका लागि कैलालीको टिकापुर पुगेका थिए । मन्त्री भट्टराईको शनिबार नै धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्किने पूर्वनिर्धारित तालिका थियो । तर, कैलालीको टिकापुरमा कार्यक्रम ढिलो भएपछि धनगढीको अन्तिम उडानबाट फर्किन सम्भव भएन ।

भोली (आइतबार, २९ भदौ २०७६) प्रतिनिधिसभामा मन्त्रालयको बारेमा संसदहरुको उत्तर दिनुपर्ने कार्यतालिका रहेको कारण मन्त्रीलाई शनिबार नै काठमाडौं फर्किनु पर्ने दबाब थियो । त्यही कारण मन्त्री बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किन धनगढीबाट नेपालगञ्ज जानुभएको थियो । करिब ६ : ३५ मा यात्रुहरुको बोर्डिङ्ग भएको थियो । यात्रुहरुभन्दा १५ मिनेट ढिला गरी करिब ६ :५० तिर मन्त्री विमानस्थल पुगेका थिए ।

‘जहाज साढे ६ बजे नेपालगञ्ज ल्यान्ड भएको थियो। एयरलाइन्सका कर्मचारीहरूले हामीलाई त्यही सूचना दिएका थिए। मन्त्रीज्यूले हामीलाई जहाज छुटे होटलमै बसौंला भनिरहनुभएको थियो। हामी विमानस्थल पुग्दा ६:५० भएको थियो। त्यसपछि जहाज उडेको हो,’ मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले भने।

नेपालगञ्ज विमानस्थल पुग्ने बित्तिकै ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको तीन चार जनाको समूहले तिव्र हो–हल्ला गरेका थिए । त्यो टोली मध्येका एकजनाले ‘पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ त्यो हामीले कहाँ बिर्सेका छौं र ?’ भन्दै अपशब्द प्रयोग गरेका थिए । उनीहरुले विमानमा नै मन्त्रीलाई ‘अब देखाइदिने’ चुनौती समेत दिएका थिए ।

यात्रुहरुका अनुसार ज्ञानेन्द्र शाही लगायत उनका समुहले ‘हामी त्यसै छोड्दैनौं’ भन्दै अपशब्द प्रयोग गरेका थिए । ज्ञानेन्द्र शाही लगायतका समूह पनि त्यही विमानबाट काठमाडौं फर्किन्दै थिए । मन्त्रीले विमानमा शाहीको उत्तेजित समूहलाई कुनै उत्तर दिएनन् । गाली गलौज गरीरहदा समेत हाँसेरै हाँसेर बसेका थिए । प्रहरीका अनुसार शाहीकै एक जना सहयोगीले मन्त्री भट्टराईविरुद्ध नाराबाजी गर्दै हातपात प्रयास गरेको प्रहरीले जनाएको छ।

शाहीको समूह नेपालगञ्जमा एक बिरोधसभा गर्न पुगेका थिए । त्यो सभामा पनि शाहीले सरकार र गणतन्त्रको तिव्र बिरोध गरेका थिए । विमानमा समेत ज्ञानेन्द्र शाहीले मन्त्रीलाई दुव्र्यवहारका लागि अन्य यात्रुहरुलाई समेत हौसाएका थिए ।

शाहीले पछिल्लो समयमा सरकार, गणतन्त्र संघीयता र धर्मनिरपेक्षताको तिब्र बिरोध गर्दै आएका छन् । शाहीले गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई ‘दलाल र कुकुर’ गाली गरेका थिए । उनी साइबर अपराधमा जेठ १५ गते सुर्खेतबाट समातिएका थिए । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्डलाई जेल हाल्ने धम्की दिदै आएका छन् ।

क्षमाप्रार्थी छु : मन्त्री भट्टराई
मन्त्री भट्टराईले नेपालगञ्जबाट काठमाडौं आउने क्रममा आफ्नो कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् ।

यस्ताे छ, प्रतिक्रिया :-

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो ।

सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं र्फकनैपर्ने दबावमा म थिएँ । नेपालगञ्ज विमानस्थलमा ३/४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु ।’ मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७