ज्ञानेन्द्र शाही प्रहरीको हिरासतमा


३० भाद्र २०७६, सोमबार
Gyanendra Shahi

काठमाडौं, ३० भदौं । अभद्र व्यवहार गरेको भन्दै प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको छ ।

नेपालगञ्ज विमानस्थलमा शनिबार भएको अभद्र व्यवहार र पर्यटनमन्त्री योगेश मन्त्री भट्टराईमाथि विमानभित्रै गरिएको गालीगलौजबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि एक समूहले हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

तर, प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ पक्राउ पूर्जी थमाएको छ । पक्राउ पूर्जी दिंदै उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको छ ।

‘शनिबार नेपालगञ्ज विमानस्थलमा अभद्र व्यवहार गरेको सम्बन्धमा अनुसन्धान गर्न शाहीविरुद्ध पक्राउ पूर्जी जारी गरेर हिरासतमा राखेका छौं’, ललितपुर प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले भने । कसको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइयो भन्नेबारेमा भने प्रहरीले केही खुलाएको छैन ।

शाहीलगायतका युवाले गत शनिबार मन्त्री योगेश भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान काठमाडौं उड्न १ घण्टा ढिला भएको भन्दै विमानभित्रै गालीगलौज गरेका थिए ।

मन्त्री भट्टराईले विमान उड्न निर्धारित समयभन्दा १५ मिनेट ढिला भएको प्रष्टीकरण दिएका छन् र त्यसप्रति माफी पनि मागेका छन् । बुद्ध एयरले पनि शाहीको समूहले दाबी गरे जस्तो एक घण्टा नभएर १५ मिनेट मात्रै उडान ढिलो भएको जनाएको छ ।

घटनालाई लिएर सामाजिक सञ्जाल तातिरहेका बेला प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । स्रोतका अनुसार, शाहीलाई अभद्र व्यवहार कसूरसँगै गैरसैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५ विपरीत कसूर गरेको अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७