के नेपाली मजदुर आन्दोलनले वर्गसंघर्षको इतिहास थेग्न सक्छ ?


२ भाद्र २०७४, शुक्रबार

भीमज्वाला राई

‘वास्तवमा मजदुर त्यो हो जसले सबै चिजबस्तुहरुमा परिवर्तन ल्याईदिन्छ,’ दार्शनिक जोन लकको यो भनाईमा घोत्लीने हो भने त्यसमा दुईवटा महत्वपूर्ण अर्थ प्रष्टसंग देखिन्छ, पहिलो असली मजदुरको क्रान्तिकारी शक्तिको महिमालाई यसले उजागर गरेको छ भने दोस्रो समाज रुपान्तरणको मुख्य जग मजदुरहरु नै भएको पुष्टि गर्दछ । जोन लकले परिभाषित गरेका मजदुरहरु हामी हुन सकेका छौ कि छैनौं ? त्यसका अर्थहरुको मर्मलाई संसार भरीका ट्रेड युनियनहरुले बुझन सकेका छन् कि छैनन् ? हरेक वर्ष आउने मे १ र हरेक वर्ष हामीले मनाईरहने मे दिवस अर्थात अन्तराष्ट्रिय मजदुर दिवसले यही प्रश्न गरिरहेको छ ।

मे दिवस अठारौं शताव्दीको समाप्ती र उन्नाईसौं शताव्दीको सुरुवाती वेला मजदुरहरुमाथी भएको पूजीवादी शोषण र दासताको कालो युगको क्रान्तिकारी कथा हो । जंहा आठ घण्टा कामको समय मागका रुपमा प्रस्तुत गर्दै आन्दोलनमा उत्रिएका शिकागोका मजदुरहरुमाथी अमेरिकी पूंजीवादले हिंशा निम्त्याएर निर्दोष मजदुरहरुको रगतको खोला बगाएको रक्तरंजित ईतिहास हो । आठ घण्टा कामको समयको मागकै आधारमा पनि सहज अनुमान लगाउन सकिन्छ त्यो समय मजदुरहरुलाई कति घण्टा काममा जोताईन्थ्यो होला भनेर । त्यस समय १८ घण्टासम्म काममा जोतिनु मजदुरहरुका लागि बाध्यता थियो, पशुवत व्यवहार नियती थियो, सास अल्झिने नाम मात्रको पारिश्रमिक पाउनु पुजींपतिको निगाह थियो साचो अर्थमा त्यस समय पुजीवादी दासत्व र शोषणको जुवामा थिचिएका थिए मजदुरहरु । पूँजिपतिहरुले गरेको मजदुहरुमाथिको शोषणको श्रृखलालाई त्यही मई १ को विद्रोहले समाप्त बनाईदियो । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग सहित शिकागो शहरमा पोखिएको विद्रोहको आगोले संसारभरी डढेलो लगाई दियो ।

मजदुरहरुले रगत र जिवनसंग साटेको साहसी ईतिहासको रंक्तरंजित कथा हो मे दिवस, अठारौं शताव्दीको पुजीवादी जुवाको तख्ता पल्टाउने मजदुरहरुको क्रान्तिकारी र गौरवमय ईतिहास हो मे दिवस । जुन सन १८८९ देखि संसार भरीका क्रान्तिकारी श्रमजीवीहरुले मनाउदै आएको छ । यसलाई अन्तराष्टिय मजदुर दिवसपनि भनिन्छ । मे दिवस संसारभरीका श्रमजीवीहरुले मनाउने सबैभन्दा महत्पूर्ण र बृहद उत्सव हो र यो मे १ लाई स्मरण गर्नका लागि मनाईन्छ । क्रान्तिकारी ईतिहासको स्मरणमा मनाईने मे दिवसमा मुलतः मजदुर आन्दोलनका उपलव्धीहरुको समिक्षा र भावी कार्यदिशा निर्माण गरिन्छ ।

राजनीतिक व्यवस्था परिवर्तन भयो तर मजदुरहरुको अवस्थामा भने खासै परिवर्तन आएको देखिदैन । प्रणालीमा रुपान्तरण भयो तर चेतना उस्तै छन् । हरेक परिवर्तनका प्रत्येक्ष हिस्सेदार मजदुरहरु भए तर राज्यको प्रणालीमा मजदुरहरुलाई निश्चित प्रतिनिधित्वको नीतिगत पहुंच बनाउन सकिएन । यसका बावजुद वितका वर्षहरु पुरै निराशाजनक मात्रै छन् भन्दा त्यो गलत हुन्छ विगत सम्झदै गरौंला तर वर्तमान र आगत हाम्रा लागि चुनौतिपूर्ण रहेका छन् ।

२०७१ सालदेखियता ७१ वटा विधेकहरु आईसकेका छन् जसमा मजदुरहरु विरुद्धका ऐन कानुनहरु ज्यादा आएका छन् । जसमा हड्ताललाई अंकुश लगाउने र मजदुरहरुको अधिकारको लागि गरिने आन्दोलन स्वतन्त्रतामाथी धावा बोल्ने खालका कानुनहरु आएका छन् । तर अलिक उद्धार मानिएको र २०७२ माघ २८ गते नै सदनमा पेस गरिएको श्रम ऐन २०७२ र मजदुरहरु भविष्यप्रतिको भरोसा र वर्तमानको सहाराका रुपमा लिईएको सामाजिक सुरक्षा कोष ऐन २०७२ साउन ४ गते संसदमा प्रस्तुत भईसकेको र दुवै कानुनका बारेमा अन्तराष्टिय श्रम समितिमा २०७३ अशोज ९ गते छmफल भईसक्दा पनि आउन सकेको छैन । यसले मजदुरहरुलाई निरास बनाएको छ ।

 

२०७१ साल यताका सबै वर्षहरु यातायात मजदुरहरुका लागि कालो वर्षका रुपमा विकास हुंदै आईरहेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को छैठौं संशोधन सहितको ऐन पारित भएर २०७३ साल अशोज १८ गते प्रमाणित भएको सरकारको कामको सुचिमा देखाईएको छ तर ऐनको दफा १६१ को ज्यान मरेमा हुने सजाय सम्बन्धी उप दफाहरुलाई संशोधन गरी चालकलाई जन्मकैदको व्यवस्था गर्ने ध्याउन्न अझंै त्यागेको छैन ।

दश कक्षा पास नगरी लाईसेन्स नदिने र नविकरण नगर्ने प्रावधान सहित २०७१ मंसिर २५ गते मन्त्रीपरिषदले पास गरेपनि आन्दोलनका कारण स्थगित सार्वजनिक सवारी चालक नियमावली २०७१ लाई पुन ब्युताउने षडयन्त्रहरु उतिकै छन् । चोरी बाटोबाट कानुन संशोधन गरी ऐनको दफा १६३ र १६४ लाई संशोधन गरी टाफिक जरिवाना बृद्धि गरेर मजदुरहरुबाट चर्को जरिवाना असुल्ने र १५ प्रतिशत प्रोत्साहन भत्ताका लोभमा हुने टाफिक ज्यादती सडकमा सहिनसक्नुको छ । मजदुरहरुको जिवन धान्नै नसक्ने ९ हजार ७ सय न्युनतम ज्याला निर्धारण भएका छन् तर त्यही न्युनतम पारिश्रमिक पनि मजदुरहरुले सबैतिर पाउन सकेका छैनन् ।

हेनरी जर्जका अनुसार ‘निम्नस्तरको ज्याला क्रान्तिकारी मजदुरहरुको उत्पादक हो, जसले संसारलाई खत्तम गरिदिन्छ’ यदी हेनरीको भनाईलाई मान्ने हो भने निम्न ज्यालापनि नपाउने मजदुरहरु अधिक छन् यदी शोषण गर्ने संसारलाई खत्तम गर्नेगरी मजदुरहरु उत्पादन गरिरहेका छन् भने ति परिकारी मजदुरहरुको पीडा समाप्तीका लागि ट्रेड युनियनहरुले ति मजदुरहरुको क्रान्तिकारी अगुवाई गर्नु पर्दछ ।

मजदुरहरुको विगत विर्सन लायक छन्, वर्तमान पीडादायक छन् र भविष्य पनि अन्धकारमय भयो र क्रान्तिकारी ईतिहासको विरासत बचाउदै हजारौं लाखौं मजदुरहरुलाई आशा र भरोसा दिलाउन सकिएन भने आन्दोलनले वर्गसंघर्षको इतिहास बोक्न र थेग्न सक्दैन । समाजवादी सपना झन् मुर्छित हुनेछन् मे दिवस मनाउनुको औचित्य हुनेछैन, यस्तो अवस्थामा मे दिवस मनाउनु भनेको पुर्खाहरुको सम्झनामा श्राद कर्म गर्नु जस्तै मात्र हुनेछन् ।

 

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७