जनरल मोटर्सका ४६ हजार मजदुर उत्रिए हड्तालमा


३० भाद्र २०७६, सोमबार
UAW GM Strike

ड्रेटोएट, ३० भदौं । अमेरिकास्थित युनाइटेड अटो वक्र्स युनियनले जनरल मोटर्स (जिएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हड्ताल शुरु गरेको छ । मजदुरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदुर हडतालमा उत्रिएका हुन् ।

वालस्ट्रिट जर्नलका अनुसार एक दशकमा पहिलो पटक जिएम विरुद्ध देशव्यापी यतिठूलो हडताल भएको हो । जिएमसँग मजदुरहरुको चार वर्षे करार समाप्त भएको, र नयाँ करार गर्न आनाकानी गरेपछि मजदुरहरु आन्दोलित भएका हुन् ।

डिट्रोइटमा आइतबार राति स्थानीय युनियन नेताहरुको बैठकले हडतालमा जानैपर्ने निर्णय गरेको युनाइटेड अटो वर्कर्स युनियनले ट्वीटमार्फत जानकारी दिएको थियो । ‘यो अन्तिम विकल्प हो’, जिएमसँग युनियनका मुख्य वार्ताकार टेरी डिटेसले बताए । ‘हामी यस मुलुकका श्रमजीवि मजदुरको आधारभूत अधिकारका पक्षमा अडिग छौं ।’

युएडब्लुका अधिकारीहरुले दुबै पक्षबीचको छलफल विनानिष्कर्ष टुङ्गिएको बताएका छन् । दुबै पक्षबीच ज्याला, स्वास्थ्य सेवा, अस्थायी कामदारको स्थिति र रोजगारीको सुरक्षाका विषयमा विमती रहेको थियो । ‘हाम्रा साथीहरुले कुरा राख्नुभयो, हामीले यस विषयलाई हल्का रुपमा लिने कुरै छैन’, युएडब्लुका राष्ट्रिय मध्यस्थता समितिका अध्यक्ष टेड क्रुमले भने ।

हडताल शुरु केही घण्टाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘जनरल मोटर्स र युनाइटेड अटो वक्र्सले मिलेर कुनै सम्झौतामा पुग्नुको विकल्प छैन ।’ वालस्ट्रिट जर्नलका अनुसार जिएममा सन् २००७ मा पछिल्लो पटक हड्ताल भएको थियो । त्यसबखत देशभर रहेका ८९ भन्दा बढी कारखानाका करिब ७३ हजार मजदुरले दुई दिनसम्म काम बन्द गरेर हड्तालमा उत्रिएका थिए ।

जिएमले एक वक्तव्य प्रकाशन गरी युएडब्लुले हडतालमा उत्रिने निर्णय गर्नु दुर्भाग्यपूर्ण रहेको जनाएको छ । जिएमले मजदुरका लागि निकै आकर्षक प्रस्ताव अघि सारेको स्पष्ट गरेको छ । ‘हामीले असल मनसायका साथ वार्तामा सहभागी भएका थियौं ।

हाम्रो एक मात्र लक्ष्य हाम्रा कर्मचारी र हाम्रो व्यवसायको राम्रो भविष्य सुनिश्चित गर्नु हो ।’ फोर्ड र फिएट क्रिस्लरमा कार्यरत मजदुरले भने आफ्नो करार नवीकरण गर्न सहमति जनाइसकेका छन, तर जिएमको व्यवस्थापनले शनिबार मजदूरको करार नवीकरण तत्काल नगर्ने जनाएको थियो ।
जिएमको बजार तुलनात्मक रुपमा निकै बलियो मानिन्छ ।

गत वर्ष कम्पनीले करिब ११ अर्ब ८० करोड अमेरिकी डलर सञ्चालन मुनाफा कमाएको थियो । तर अमेरिका र अरु मुलुकबीचको व्यापार तनाबले जिएम पनि मन्दीको शिकार हुने अनुमान गरिएको छ ।

त्यही जोखिमका कारण कम्पनीले आफ्ना मजदूरको संख्यामा निरन्तर कटौती गरिरहेको छ ।
जिएमले गत नोभेम्बरमा उत्तर अमेरिकाका पाँच वटा कार निर्माण कारखाना बन्द गर्ने घोषणा गरेको थियो जसमा अमेरिकाका मिसिगन र ओहायोका कारखाना पनि समावेश छन् ।

जिएमको व्यवस्थापनले अमेरिकी कार निर्माण कारखानाको स्तरोन्नतिका लागि ७ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यसबाट करिब पाँच हजार ४०० को रोजगारी सुनिश्चित हुनेछ । साथै अमेरिकी प्लान्टबाटै पूर्ण विद्युतीय ट्रक निर्माण गर्ने योजना पनि समावेश गरिएको छ । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७