दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै


२ आश्विन २०७६, बिहीबार
dhitopatra board

काठमाडौं, २ असोज । शेयर बजारमा सामुहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामुहिक लगानी कोष योजना (म्युचअल फण्ड) अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार ग्लोबल आइएमई बैङ्कले प्रवद्र्धन गर्न लागेको ‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ र लक्ष्मी बैङ्कले प्रवद्र्धन गर्ने ‘लक्ष्मी उन्नति कोष’ बिक्रीका लागि तयारी गरिएको हो ।

बोर्डमा छलफलका क्रममा रहेका ती योजनाअनुसार ‘ग्लोबल आइएमई म्युचुअल फण्ड’ अन्तर्गत रु एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्री गरिने छ । त्यस्तै ‘लक्ष्मी म्युचुअल फण्ड’ अन्तर्गत रु ८० करोड बराबरको आठ करोड इकाइ बिक्री गरिने छ ।

बोर्डले गत भदौ २३ गतेमात्रै सनराइज बैङ्कले प्रवद्र्धन गरेको ‘सनराइज फस्ट म्युचुअल फण्ड’ योजनाअन्तर्गत रु एक अर्ब बराबरको १० करोड इकाई बिक्री गर्नका लागि स्वीकृति दिएको छ ।
नेपाल स्टक एक्सचेन्जमा हाल १७ वटा सामूहिक लगानी कोष योजना सूचीकृत छन् । शेयर बजार निरन्तर ओरालो लागेका कारण अधिकांश योजनाको प्रतिइकाइ मूल्य आधारभूत मूल्यभन्दा कम रहेको छ ।

स्टकमा सूचीकृतमध्ये नवील ब्यालेन्स फण्ड–१ को प्रतिइकाइ मूल्य रु १६.६५, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाइ रु १०.८५ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–१ को प्रतिइकाइ मूल्य २०.०९ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७