दशैं पनि फास्ट ट्रयाक जस्तो भइरहेको छ : नायिका रेजिना उप्रेती


१५ आश्विन २०७६, बुधबार
Rejina Uprety

काठमाडौं, १५ असोज : लामो समय हराएपछि नायिका रेजिना उप्रेती फेरि विभिन्न फिल्मी जमघट र कार्यक्रमहरुमा देखा पर्न थालेकी छन् । ६ वर्षअघि विवाह गरेपछि फिल्मी दुनियाँबाट हराएकी थिइन् । केही समयअघि सम्पन्न चलचित्र कलाकार संघको अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भइन् । केही दिनअघि उनको रेजिना फिल्मस र शहिद फिल्मस् नामक कम्पनीले रक्षा नेपालको सहयोगमा ९ जना अभिनेत्रीलाई नवदुर्गा सम्मान गरेको छ ।

दशैं कसरी मनाउँदै हुनुहुन्छ ?
– पहिला काठमाडौंमा हाम्रो घर थिएन । डेरामा बस्नुपथ्र्यो । धादिङको हाम्रो घर काठमाडौंबाट दुई घण्टामै पुगिन्छ । त्यसैले हामीलाई दशैंमा घर जानु सामान्य कुरा नै हुन्थ्यो । तर, अब काठमाडौं (सतुंगल) मा घर छ । बालबच्चा भए । व्यवहारमा परियो । त्यसैले दुई वर्षदेखि दशैं नै भनेर गाउँ जानु पर्दैन । बुबा र ममीहरु यतै आउनुहुन्छ ।

काठमाडौंमा पनि दशैं रमाइलो हुन्छ र ?
– रमाउन जान्यो भने जहाँ पनि रमाइलो । रमाउन नजान्नेका लागि कतै पनि रमाइलो हुँदैन ।

गाउँको दशैं कत्तिको मिस गर्नुहुन्छ ?
– जीवनमा बालापन भन्ने कुरा एकचोटी आउँछ र त्यसले जीवनभर भुल्न नसक्ने छाप छोडेर जान्छ । मेरो लागि गाउँमा वाल्यकालमा मनाएका प्रत्येक दशैंहरु सधैं मिस हुन्छ । हामीले चाहेर पनि त्यो उमेर, त्यो समय र त्यसबेलाको उमङ्ग फिर्ता ल्याउन सक्दैनौं । अब त आफ्नो खुशीभन्दा पनि बालबच्चाको खुशीमा रमाउने समय आयो । ३ वर्षकी छोरी छ । ऊसँगै रमाउने र उसको खुशीमा हामी पनि खुशी हुने ।

पहिलाको दशैं र अहिलेको दशैंमा के भिन्नता पाउनु हुन्छ ?
– पहिला सबै कुरा नेचुरल हुन्थ्यो । अहिले हरेक कुरा आयातित हुन्छ । गाउँमा आफ्नै खेतको चामल हुन्थ्यो, करेसाबारीको तरकारी खाइन्थ्यो, घरमै पालेको खसी काटिन्थ्यो । अहिले सबै कुरा चाहिएपछि किन्यो, खायो ।

त्यसैले हामी नेपालीको जीवन अलिक फास्ट ट्रयाक भएको छ । दशैं पनि फास्ट ट्रयाक जस्तो दुई–चार दिनअघि देखि आयो–आयो भन्यो, एक–दुई दिनमा गयो–गयो भन्ने हुन्छ । पहिला–पहिला ६ महिनाअघि दशैंको प्लान बनाउँथ्यौँ । दशैं आउँदैछ भनेर धेरै पहिलादेखि रमाइलो मानिन्थ्यो । अब दशैं मुखमा आएपछि बल्ल आयो भन्ने बेला छ ।

भर्खरै नवदुर्गा सम्मानको आयोजना गर्नुभयो । कसरी आयो यस्तो आइडिया ?
– मेरो नाम, पहिचान भनेकै चलचित्र क्षेत्रसँग जोडिएको छ । जहाँ गए पनि, जे गरे पनि मनबाट ‘चलचित्र’ हटाउन गाह्रो हुँदोरहेछ । फिल्म बनाएँ, कलाकारिता त मुख्य काम भइहाल्यो । बीचमा श्रीमानको व्यवसायमा सहभागी भएँ । तर, चलचित्रकर्मले मलाई र मैले चलचित्रकर्मलाई छोड्नै नसक्ने गरी सम्बन्ध बनेको रहेछ ।

मनमा के गरौं–के गरौं भन्ने भइरहने । अनि, डेढ महिनाअगाडि मेरो मनमा हामीभन्दा सिनियर दिदीहरुलाई नवदुर्गा सम्मान गर्ने भन्ने कुरा खेल्यो । शहिद फिल्मस्को दुर्गा केसी र रक्षा नेपालको मेनुका थापाहरुसँग सल्लाह गरें । उहाँहरुले पनि हौसला दिनुभयो । दुर्गाजी र मेरो रेजिना फिल्मस् त आयोजक नै भयो । रक्षा नेपाल जस्तो संस्थाले पनि सघाउने भएपछि हामी उत्साहित भयौं ।

दशैंकै बेला किन कार्यक्रम गर्नुभएको ?
– हामीले लिएको धार्मिक विश्वासअनुसार दुर्गा भवानीका विभिन्न नौ रुप हुन्छन् । नेपालको चलचित्र क्षेत्रलाई इतिहासदेखि यहाँसम्म ल्याउने काममा थुप्रै दिदी, बहिनीको योगदान छ । त्यसमध्ये पनि हाम्रा अग्रज दिदीहरु, जसलाई हेरेर हामी पनि यो क्षेत्रमा आउनका लागि प्रेरित भयौं, उहाँहरुलाई दुर्गा भवानीका विभिन्न नौ रुपमा रुपान्तरण गर्ने सोचको विकास भयो । आज हामीले गर्‍यौं भने भोलि आउने पुस्ताका कलाकारलाई पनि यस्तो काम गर्नै हौसला मिल्छ । त्यही भएर यो कार्यक्रम गर्‍यौं ।

कत्तिको दुःख भयो ?
– यस्तो काम गर्ने भनेर प्रतिज्ञा गरिसकेपछि दुःख मान्नु हुँदैन । ९ जना सिनियर दिदीहरुलाई एउटै स्टेजमा ल्याउने कुरा सजिलो थिएन । सबैलाई गएर आफै भेटें । कुरा राखें । सहमत हुनुभयो । तर, कता–कता मनमा चाहिँ ‘बाइ दि वे आउनु भएन भने ?’ भनेर कुरा खेल्थ्यो । अनि, हरेक दिन उहाँहरुसँग कन्ट्याक्टमा हुन्थें । कार्यक्रममा पर्फमेन्स गर्ने साथीहरुलाई कोअर्डिनेट गर्नुप¥यो । त्यसैले दुःख हैन, व्यस्त भइयो भनौं ।

पैसाले दुःख भएन ?
– त्यो पनि दुःख मानिनँ । सकेको गरें भन्छु । कलाकार साथीहरुले कलाकारले नै आयोजना गरेको कार्यक्रम भनेर धेरै कोअपरेट गर्नुभयो । टोकन मनी भनेर थोरै थोरै पैसामा चित्त बुझाई दिनुभयो ।

केही समय फिल्म लाइनबाट हराउनु भयो । कहाँ हुनुहुन्थ्यो ?
– विवाह गरें, ६ वर्षअघि । त्यसपछि श्रीमानको ट्राभल एजेन्सीमा सघाउन थालें । तीन वर्षअघि छोरी जन्मिइन् । छोरी नहुर्किंदासम्म आमालाई अलिक फ्रि भएर हिँड्न गाह्रो हुन्छ । व्यवहार पनि हेर्नुपर्छ । त्यसैले अहिले पनि पूरै समय दिएर चलचित्र क्षेत्रमा लाग्न सकेकी छैन । भर्खरै माननीय शान्ता चौधरीको गीतको म्युजिक भिडियोमा काम गरें । अब विस्तार विस्तारै सक्रिय हुँदैछु ।

ट्राभल एजेन्सी कहाँ छ ?
– विशालनगरमा । श्रीमान् १५–१६ वर्षदेखि यही क्षेत्रमा हुनुहुन्छ । म चाहिँ नयाँ–नयाँ भनौं ।

हराएको मान्छेले कसरी कलाकार संघको चुनाव जित्नु भयो ?
– कलाकारका रुपमा म स्थापित नै छु, केही वर्ष टाढा भएको मात्र थिएँ । हामी प्रगतिशील पक्षका कलाकार हौं । तर, यो क्षेत्रमा सबै विचारका अग्रज, सहकर्मीले माया गर्नुहुन्छ । त्यही भएर चुनाव जितियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७