महराले फिर्ता गरे गाडी र २८ सुरक्षाकर्मी


१६ आश्विन २०७६, बिहीबार
mahara

काठमाडौं, १६ असोज । यौन दुर्व्यवहारको आरोपपछि राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महराले सभामुखको हैसियतमा पाएको गाडी र सुरक्षाकर्मी फिर्ता गरेका छन् ।

महराले बिहीबार सरकारी गाडी र २८ सुरक्षाकर्मी फिर्ता गरेका हुन् । गाडी संसद सचिवालयको सवारी शाखाका प्रमुख उपसचिव कान्छा दुलाललाई बुझाइएको छ । महराले बा २ झ १२६८ नम्बरको ल्याण्डक्रुुसर गाडी चढ्दै आएका थिए । यस्तै क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ प्रहरी उनको सुरक्षामा खटिएका थिए । उनीहरु पनि अब फिर्ता भएका छन् ।

संसद सचिवालयमा कार्यरत कर्मचार (स्टाफ नर्स) रोशनी शाहीले यौन दुव्र्यवहारको आरोप लगाएपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए ।

उनलाई आरोप लगाउने शाहीले आरोप लगाएको भोलिपल्ट आफूले डिप्रेसनको औषधि खाइरहेको र रिसको झोेंकमा महरामाथि गलत आरोप लगाएको बताएकी थिइन् । उनले पछिल्लो समय महराले आफूमाथि दुर्व्यवहार नगरेको र उनी आफ्नो बाबु सरह भएको भन्दै बोली फेरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७