जेठानी–देउरानीबीच छुरा हानाहान, एकको गयो ज्यान

धनुषा, २१ असोज । धनुषामा जेठानी र देबरानीबीच छुरा हानाहान हुँदा एक जनाको ज्यान गएको छ । जेठानीले प्रहार गरेको छुराबाट देवरानीको ज्यान गएको हो ।

घटना जिल्लाको औरही नगरपालिका–१, झिटकैयाको हो । यहाँ निवासी अहमद राइनकी पत्नी २६ वर्षीया सुनौल र अहमदका भाइ विवरण राइनकी २२ वर्षीया पत्नी सहानी खातुनबीच भएको विवाद छुरा प्रहारसम्म पुग्दा सहानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार राति दुबैबीच घरायसी विवाद भएको थियो । सोही क्रममा जेठानी सुनौलले देवरानी सहानीको शरीरमा अन्धाधुन्ध छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका डीएसपी रामेश्वर कार्कीले बताएका छन् ।

उनका अनुसार सहानीमाथि छुरा प्रहार गरेर सुनौलले आफ्नो पेटमा समेत छुरा प्रहार गरेकी थिइन् । उनले आत्महत्या गर्ने प्रयास गरेको आशंका गरिएको छ । डिएसपी कार्कीका अनुसार छुरा प्रहारबाट घाइते भएकी जेठानी–देवरानीलाई उपचारका लागि जनकपुरस्थित काव्या हस्पिटलमा ल्याइएको थियो । तर, उपचारकै क्रममा सहानीको मृत्यु भयो ।

आफैंले आफ्नै शरीरमा गरेको छुरा प्रहारबाट घाइते भएकी सुनौलको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्