मोटरसाइकलको बीचमा चढाएर ल्याई युवकको गोली हानी हत्या


२६ आश्विन २०७६, आईतवार

रौतहट, २६ असोज । आफैले मोटरसाइकलको बीचमा हालेर ल्याएको युवकको गोली हानी हत्या गरिएको छ ।

दुई जनाले मोटरसाइकलको बीचमा हालेर ल्याएको युवकको रौतहटको इशनाथ नगरपालिकामा गोली हानी हत्या गरिएको हो । भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुनः भारततर्फ फर्किएको स्थानीयले जानकारी दिएका छन् ।

इशनाथ नगरपालिका–६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुल नजिकै एक युवकमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले बताए ।

मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन । भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ । मृतक युवक अन्दाजी २५ बर्षका छन् ।

मृतकको साथ बाट उनको पहिचान हुने कुनै बस्तु फेला नपरेको र हत्यामा प्रयोग भएको गोलीको खोका अत्याधुनिक हतियारको भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७