४२ मेगावाटको मिस्त्रीखोलाको ९० प्रतिशत निर्माण पूरा


२९ आश्विन २०७६, बुधबार
Mistrikhola hydro

म्याग्दी, २९ असोज । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत् आयोजनाको नब्बे प्रतिशत निर्माण सकिएको छ ।
रोवस्ट इजर्नी प्रालि प्रवर्धक रहेको ४२ मेगावाट क्षमताको आयोजनाको पूर्वाधार निर्माण अन्तिम

चरणमा पुगेको हो । बाँध, विद्युत गृह, सुरुङ र पाइपलाइन जडानलाई अन्तिम रुप दिन जुटेको आयोजनाले इलेक्ट्रोमेकानिकल उपकरण जडान शुरु गरेको छ ।

९० प्रतिशत निर्माण सकिएको आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले जानकारी दिए । ‘ड्याम, टनेल र पावरहाउस फिनीसिङसँगै जेनेरेटर, टवाइनलगायत इलेक्ट्रिक उपकरण जडान भइरहेको छ’, खड्काले भने, ‘मिस्त्रीखोलाबाट विद्युत् उत्पादनको तयारीमा छौं ।’

छिटोमा तीन महीनाभित्र आयोजना सञ्चालन गर्ने लक्ष्य छ । गत बैशाख अन्तिम हप्ता दुई हजार २७०.५ मिटर सुरुङको ब्रेक थ्रु भएको थियो । सन् २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणको काम शुरु भएको थियो । बाँधतर्फबाट ९२६ मिटर र आउटलेटबाट एक हजार ३४४.५ मिटर सुरुङ खनेको छ ।

नेपाली सेनाको निगरानीमा बिष्फोटक पदार्थको प्रयोग गरेर सुरुङ निर्माण गरिएको हो । अहिले सुरुङभित्र पलास्टर गर्ने काम भइरहेको छ । नारच्याङको बेशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युत गृह निर्माण गरेको छ ।

निलगिरी र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण भएको छ । पहाडभित्र १३५ मिटर सुरुङ खनेर खोलाको पानीलाई डाईभर्सन गराएर बाँध निर्माण गरिएको हो । मिस्त्रीखोलाको पानी थिग्राउने पोखरी (क्यानल) भूमिगत हो ।

पहाडभित्र ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई वटा बालुवा थिग्राउने भूमिगत पोखरी बनाइएको छ । आउटलेटदेखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाइको पेन स्टक पाइप जडान भएको छ ।

आयोजनाले नारच्याङ बेशीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तीन वटा बेलीब्रिज निर्माण गरेको छ । रु पाँच अर्ब ६४ करोडको लागत अनुमान गरिएको आयोजना स्वदेशी लगानीमा निर्माण हुन लागेको हो ।

प्रवर्धक बाहेक नेपाल इन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत् विकास कम्पनीले एक अरब र नेपाल बैंकले रु ५० करोड ऋण लगानी गरेका छन् । यसैगरी नविल बैंकले एक अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी रहेको छ ।

विद्युत् विकास विभागले २०६४ मा निर्माण अनुमति दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब–स्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि धकेलिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७