सरकार लोपोन्मुख जाति, भाषा र सँस्कृतिको संरक्षणमा प्रतिवद्ध छ : पर्यटनमन्त्री


३० आश्विन २०७६, बिहीबार
Yogesh bhattrai 1

काठमाडौं, ३० असोज । सँस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

मन्त्री भट्टराईले सबै भाषा, जाति र संस्कृतिको संरक्षण र सम्वर्धनका लागि सरकारले संवैधानिक अङ्गहरुकै व्यवस्था गरेको पनि स्पष्ट पारे । उनले सबै भाषा, संस्कृतिहरुको खोज, अनुसन्धान गर्नका लागि सरकारले विभिन्न प्रतिष्ठानहरुको स्थापना गर्नु परेको पनि स्मरण गराएका छन् ।

अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सरकारले नयाँ पुस्तालाई समेत हाम्रा अमूर्त सांस्कृतिक सम्पदाहरु हस्तान्तरण गर्ने गरी भाषा आयोग, महिला आयोग, मधेशी आयोग र विभिन्न प्रतिष्ठानहरुको गठन गरी त्यसको खोज र अनुसन्धानको कामलाई निरन्तरता दिईरहेको पनि बताए ।

‘अझै पनि कतिपय जातिहरुको पहिचान हुन बाँकी होला, कतिपय हाम्रा भाषाहरु लोप हुन लागेका होलान,’ मन्त्री भट्टराईले भने, ‘तिनीहरुको संरक्षण र सम्वर्धन गर्ने दायित्व सरकारको हो ।’ त्यस अवसरमा मन्त्री भट्टराईले जनस्तरबाट स्थापना गरिएका संघ, संस्थाहरुले पनि नेपालको अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि उल्लेख गर्नु भए ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परम्परागत ज्ञान, सीप र प्रविधिलाई लोप हुन नदिन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । उनले सरकारले सांस्कृतिक सम्पदाहरुको पनि संरक्षण हुने गरी ‘सांस्कृतिक नीति’ बनाएकोमा खुशी व्यक्त गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए ।

यसैबीच, अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसर पारेर बिहीबार बिहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको थियो । काठमाडौंको प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको गेटबाट शुरु भएको प्रभातफेरी भद्रकाली, शहीदगेट, रत्नपार्क हुँदै जमलस्थित राष्ट्रिय नाचघरमा पुगेर कोण सभामा परिणत भएको थियो । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७