कम्युनिष्ट भन्दा राम्रो काम गरेर हाम्रो फरक देखाउनुस् : देउवा


१ कार्तिक २०७६, शुक्रबार
deuwa

भक्तपुर, १ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट स्थानीय तहमा पुगेका प्रतिनिधिहरुलाई कम्युनिष्टहरुले भन्दा परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।

देउवाले नेपाली पार्टीबाट उम्मेद्वार भई चुनाव जितेर स्थानीय तहमा काम गरिराखेका प्रमुख–उपप्रमुखहरुलाई पार्टीको सिद्धान्तले मात्र होइन काम गराईको शैलीले पनि कम्युनिष्टहरु भन्दा फरकपन दिन निर्देशन दिएका हुन् ।

भक्तपुरको बोडेमा पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार शुरू गरेको कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले भने, ‘हामीले चुनाव जितेका ठाउँमा कम्युनिष्टले भन्दा राम्रो काम गरेर देखाउनु पर्छ । कामबाट नै कम्युनिष्ट भन्दा हामी फरक हो भन्ने देखाउनु पर्छ ।’

कम्युनिष्टहरूले जितेका स्थानीय तहमा भन्दा कांग्रेसले जितेका ठाउँमा फरक र राम्रा काम हुनुपर्नेमा देउवाले जोड दिए । ‘जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी राम्रो काम गरेर देखाउनु पर्छ,’ उनले भने ।

उनले कर्मचारीहरूले असहयोग गरेको पनि बताएका छन् । ‘जनताको करबाट पारिश्रमिक खाने कर्मचारीहरू यो वा त्यो कुनै पार्टीमा लागेर काम गर्न हुन्न,’ उनले भने, ‘कर्मचारीले असहयोग गरे भने हामी हिसाब राख्छौं ।’ प्रशिक्षणमा देशभरका तीन सय भन्दा बढी स्थानीय तहबाट प्रतिनिधि आएका छन् । जनता र पार्टीसँग समन्वय गरी काम गर्न निर्देशन दिन कांग्रेसले प्रशिक्षण राखेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७