पहिलो किस्ता लिएर घर बनाउन नपाएकालाई ऋण सहयोग


८ कार्तिक २०७६, शुक्रबार
Money paisa rakam NYfiuAliCy

काठमाडौं, ८ कातिक । पहिलो किस्ता पाएर पनि घर बनाउन नपाएका भूकम्पपीडितले बढीमा पाँच वर्षका लागि रु तीन लाख ऋण सहयोग पाउने भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युके एड सक्षम टु फाइनान्सबीच गोरखा र धादिङका भूकम्पपीडितलाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्न आज सम्झौता गरिएको छ । समक्षदारीपत्रमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टोलीनेता निर्मल दाहालले हस्ताक्षर गरे ।

सम्झौतापछि धादिङका धुनीवेंसी, नीलकण्ठ नगरपालिका र गोरखाको गोरखा नगरपालिकाका लाभग्राहीले बैंकको नियमानुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत सहुलियत दरमा भूकम्पपीडितले घर कर्जा पाउने छन् ।

सम्झौतापछि प्रदेश नं २, प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लामा बैंकले सक्षमसँग मिलेर सामाजिक सुरक्षाकोषको भुक्तानी बैंकमार्फत गर्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने पनि बताइएको छ ।

सम्झौतापछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले आर्थिक अभावले घर बनाउन नसकेकालाई सहजीकरण गर्ने र अन्यत्र घर भएका वा घर आवश्यक नभए पनि किस्ता लिएकालाई कारवाही प्रक्रिया अघि बढाइने बताए ।

पहिलो किस्ता पाएर पनि घर बनाउन शुरु नगर्नुका कारण आर्थिक अभावले नै गर्दा हुनसक्ने उनको भनाइ छ । उनले भने, ‘दोस्रो किस्ता लिएकाले पैसा जम्मा गरेर निर्माण शुरु गरेको हामीले अनुमान गर्छाै ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले विभिन्न कार्यक्रममार्फत लक्षित वर्गलाई सहुलियत कर्जा प्रवाह गरिरहेको बताए । सहुलियत कर्जाबाट धेरै महिला उद्यमी लाभान्वित भएका उनको भनाइ छ । सक्षम एक्सिस टु फाइनान्सका टोली नेता दाहालले यो सम्झौताले भूकम्पपछिको पुनर्निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७