बंगलादेश टेस्ट क्रिकेट टिमका कप्तान हसनलाई दुई बर्ष प्रतिबन्ध

काठमाडौं, १३ कार्तिक । बंगलादेश टेस्ट क्रिकेट टिमका कप्तान शकिब अल हसनलाई भ्रष्टाचारको आरोपमा दुई वर्ष प्रतिवन्ध लागेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भ्रष्टाचारसम्बन्धी नियम उलंघन गरेको भन्दै शकिबलाई सबै खाले क्रिकेटमा एक वर्ष निलम्बनसहित दुई वर्षको प्रतिबन्ध लगाएको बिबिसीले जनाएको छ ।
आईसीसीको एन्टी करप्सन युनिटले लामो अनुसन्धानपछि शकिबलाई दोषी ठहर गरेको हो । शकिबले एन्टी करप्सन कोडको तीन मुख्य नियम उलंघन गरेको आईसीसीको आरोप छ । शकिबले विभिन्न खेलमा खेल बेटिङका लागि आएको प्रस्तावबारे आईसीसीलाई नदिएको बताइएको छ ।
सन् २०१८ मा बंगलादेश, श्रीलंका र जिम्बावेबीचको त्रिकोणात्मक सिरिज र इण्डियन प्रिमियर लिग चरणका विभिन्न खेलमा बेटिङको सूचना पाएपनि हसनले जानकारी नगराएको आरोप लगाइएको छ ।
बंगलादेशका लागि ३३८ खेल खेलेका ३२ वर्षीय शकिब एक दिवसीय क्रिकेटको अलराउण्डर वरियताको शीर्ष स्थानमा रहेका छन् । शकिबले आफूमाथि लागेको आरोप स्वीकार गरेको र आईसीसीको प्रतिबन्धलाई पूर्णरुपमा पालना गर्ने बताएका छन् ।