६० लाखको गाडी चढेर नेपालमा चोर्न आउने ‘भीआइपी’ भारतीय चोर पक्राउ


१५ कार्तिक २०७६, शुक्रबार
vip thief

झापा, १५ कार्तिक । महँगो गाडी लिएर नेपाल पसी चोरी गर्ने एक ‘भीआइपी’ भारतीय चोरलाई झापा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको संयुक्त प्रहरी टोलीले भारतीय नागरिक रघुबरप्रसाद साह (वर्ष ४३) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी दिनेश मैनालीले जानकारी दिएका छन् । साह भारतको सिलगडीको भएको र उनी नामुद चोर रहेको प्रहरीको दावी छ ।

साह नेपाल भारत सीमावर्ती जिल्ला झापा, सुनसरी र मोरङका विभिन्न स्थानमा चोरीमा संलग्न रहेको खुलेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख डीएसपी मोहन थापाले बताएका छन् ।

पक्राउपछि शुक्रबार चोरीमा संलग्न साहलाई प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उनी भारतबाट नेपाल आउँदा भन्सार तिरेर ६० लाखको महिन्द्रा गाडी चढेर आउने गरेको समेत पाइएको छ । ‘महँगो गाडी चढेर नेपाल आउने, धनाढ्यहरुको घर रेकी गर्ने र कोही नभएको मौका पारी चोर्ने गरेको भेटिएको छ’ इलाका प्रहरी प्रमुख थापाले भने, ‘साहले चोरी गरेकै रकमबाट ६० लाख पर्ने गाडी चढेको समेत अनुसन्धानबाट खुलेको छ ।’

प्रहरीले साहलाई १२ कार्तिक गते सिसि क्यामेराको फुटेजका आधारमा विर्तामोडस्थित एक लजबाट पक्राउ गरेको जनाएको छ । साहले विर्तामोड ५ बस्ने ललिता सापकोटा, गीता पौडेल, मधुगुप्तालगायतका घरमा चोरी गरेको प्रहरीले जनाएको छ । उनका साथबाट प्रहरीले चोरी गरेका केही सामान समेत बरामद गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७