प्रदेश प्रमुख छानिएसँगै मन्त्रिपरिषद वैठक शुरु


१८ कार्तिक २०७६, सोमबार
Cabinet Meeting

काठमाडौं, १८ कार्तिक । नेकपा सचिवालय वैठकले सातै प्रदेश प्रमुख सिफारिस गरे लगतै उनीहरुलाई नियुक्त गर्ने विषयमा निर्णय लिन मन्त्रिपरिषदको बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको वैठकले प्रदेश प्रमुखमा सिफारिस भएका नामहरुलाई नियुक्तिको निर्णय गर्ने जनाइएको छ ।

नेकपा सचिवालय बैठकले सातै प्रदेशका लागि प्रमुख नियुक्तिका लागि सात जनाको नाम सिफारिस गरेसँगै मन्त्रिपरिषद्को बैठक शुरु भएको हो ।

नेकपा सचिवालय बैठकले अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौं) र विष्णु प्रसाई (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्ने चाहिँ मन्त्रिपरिषद्ले टुङ्गो लगाउने छ । प्रदेश प्रमुखलाई संघीय सरकारको प्रतिनिधिको रुपमा लिइन्छ । सरकारले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णयसँगै नेकपाले नयाँ नामको टुङ्गो लगाएको हो ।

सरकारको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश–१ का गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश–२ का रत्नेशवर लाल कायस्थ, प्रदेश–३ का अनुराधा कोइराला, गण्डकीका बाबुराम कुँवर, प्रदेश–५ का उमाकान्त झा, कर्णालीका दुर्गाकेशर खनाल र सुदूरपश्चिमका मोहनराज मल्ललाई प्रदेश प्रमुखको जिम्मेवारीबाट पदमुक्त गरेकी थिइन् । राष्ट्रपतिले संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम उनीहरुलाई पदमुक्त गरेकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७