दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या


२० कार्तिक २०७६, बुधबार
thailand aatankari akraman

एएफपी
याला, थाइल्याण्ड, २० कात्तिक। दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ ।

थाइल्याण्डको दक्षिणमा अवस्थित तीनवटा प्रान्तमा जारी विद्रोही आक्रमणमा हालसम्म सात हजारभन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ । मलाया–मुस्लिम विद्रोहीहरुले बढी स्वायत्तताको माग राखी सशस्त्र आन्दोलन गरिरहेका छन् ।

यो क्षेत्रमा थाई सरकारले सैनिक कानुन लगाएको छ । यहाँ सैनिक र प्रहरीको बाक्लो उपस्थिति रहनुका साथै तालिमप्राप्त नागरिक स्वयमसेवी परिचालन गरिएको छ । स्थानीयबासी र अधिकारकर्मीहरुले सैनिक कानुनका कारण स्थानीयबासीले कठिनाई भोग्नु परेको बताउँदै आएका छन् ।

गत मङ्गलबार विद्रोहीहरुले याला प्रान्तका दुई वटा जाँच चौकीमा आक्रमण गरेका थिए । सेनाका प्रवक्ता प्रमोट प्रोम–इनले आक्रमणका कारण १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

आक्रमणकारीले एम–१६ राइफल र सटगन समेत लुटेर लगेको जानकारी दिँदै उक्त क्षेत्रमा सैनिक परिचालन गरिएको र आक्रमणकारीको खोजी तिब्र बनाएको बताए ।

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आक्रमणकारीलाई न्यायको कठघरामा ल्याइने बताएको रक्षा मन्त्रालयका प्रवक्ता कोङचीप तान्त्राभानिचले उल्लेख गरेका छन् ।

मलेसियासँग सीमा जोडिएको यस क्षेत्रमा सक्रिय विद्रोहीले बौद्धमार्गी बहुल थाई सरकार विरुद्ध सशस्त्र सङ्घर्ष गरेको वर्षौं भइसकेको छ । यो क्षेत्र एक सय वर्षभन्दा अघि थाइल्याण्डले अधीनस्थ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७