भारतले भन्यो, ‘कालापानी पहिल्यैदेखि भारतको नक्सामा छ’

भारतले नक्सा पुनर्विचार गर्दैन, नेपालले आफ्नो नक्सा सार्वजनिक गरे हुन्छ ः अशोक मेहता


२२ कार्तिक २०७६, शुक्रबार
girish


काठमाडौं, २२ कार्तिक । भारतले जारी गरेको नयाँ नक्साका कारण नेपालमा विरोध र जुलुस प्रदर्शन भइरहेका बेला भारतीय पक्षले भने नेपाली भूमि एकरति पनि नचलाएको दावी गरेको छ ।

भारतका एक अधिकारीले कालापानी अहिले मात्र नभई पहिल्यैदेखि भारतको नक्सामा नरहेको दावी गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भू–भाग कालापानी, लिपुलेकलगायतका नेपाली भूभागलाई भारतमा गाभेको भन्दै विरोध भइरहेको समयमा भारतीय अधिकारीले पहिलादेखि नै ती भूभाग भारतकै नक्सामा रहेको दावी गरेका हुन् ।

भारतका महासर्वेक्षक एवम् लेफ्टिनेन्ट जनरल गिरिशकुमारले एकतर्फी रुपमा नक्सा प्रकाशित नगरिएको जिकिर गरेका छन् । उनले पछिल्लो नक्सामा अन्तर्राष्ट्रिय सीमा हेरफेर नभएको दावी गर्दै ती भूभाग पहिलादेखि नै भारतमा रहेको दावी गरेका छन् । उनले भनेका छन्, ‘हामी हरेक वर्ष नक्सा जारी गर्छौं । तपाईं हाम्रो अघिल्लो नक्सा हेर्न सक्नुहुन्छ, अन्तर्राष्ट्रिय सीमा चलाइएको छैन ।’

उनले सात दशकदेखि आफूहरुले मान्दै आएको कुरा नै नक्सामा रहेको दावी गर्दै नेपालको अन्तर्राष्ट्रिय सीमामा केही हेरफेर नगरिएको दावी गरे । ‘हामीले पहिलादेखि नै जे भन्दै आएका छौं, हाम्रो स्थान भनेर जे मान्दै आएका छौं, नक्सामा त्यही देखाइएको छ,’ उनले भने ।

नेपालको सीमा एक इञ्च मिचिएको छैन–भारत
विवादित नक्साका बारेमा भारतीय पक्षबाट लिखित रूपमा आधिकारिक धारणा सार्वजनिक भएको छैन तर, बिहीवार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले नयाँ नक्सामा नेपालसँगको सीमाना एक इञ्च पनि तलमाथि नगरिएको दाबी गरे ।

‘हाम्रो नक्साले भारतको सार्वभौम भू–भागको सही चित्रण गरेको छ,’ रवीश कुमारले भने, ‘नयाँ नक्साले नेपालसँगको हाम्रो सीमानालाई एकरत्ती पनि परिवर्तन गरेको छैन ।’

भारतले नक्सा पुनर्विचार गर्दैन, नेपालले आफ्नो नक्सा सार्वजनिक गरे हुन्छ : अशोक मेहता, भारतीय सेनाका पूर्व मेजर जनरल
नेपाल मामिलाका जानकार भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहताले दुईवटा कुरामा विवाद रहेको र अझैसम्म त्यो नसल्टिएको दाबी गरेका छन् ।

मेहताले कालापानीको विवाद अहिले भारतले नयाँ नक्सा प्रकाशित गर्दा मात्र सतहमा नआएको बताएका छन् । ‘कालापानीको विषय, भारतले नयाँ नक्सा जारी गरेपछि शुरू भएको होइन, त्यो धेरै वर्ष पहिलादेखिको विवाद हो,’ मेहताले भने, ‘त्यो विवाद संयुक्त प्राविधिक समितिले पनि हल गर्न नसकेको कुरा हो ।’

मेहताले पहिलो विवाद काली नदीको मुहान कहाँ हो भन्नेमा रहेको र दोस्रो विवाद भारत–नेपाल–चीनको त्रिदेशीय बिन्दु कुन हो भन्नेमा रहेको बताए । दुईमध्ये पहिलो विवाद नेपाल भारतको परराष्ट्र सचिवस्तरीय बैठकले टुंग्याउन सक्ने र दोस्रो विवाद तीनै पक्ष मिलेर टुंग्याउनु पर्ने मेहताको जिकिर छ ।

मेहताले नेपालको भू–भागलाई भारतले आफ्नो बनाएको छ भनेर नेपालमा बहस शुरू हुनु गलत भन्न नसकिने स्वीकारे । ‘भारतले बनाएको नक्सामा भारतको पोजिसन देखिएको छ,’ मेहताले थपे, ‘नेपालले पनि आफ्नो पोजिसन देखाउन नयाँ नक्सा जारी गर्न सक्छ र ती भूमिहरूलाई आफ्नो दाबी गर्न सक्छ ।’
नयाँ नक्साबारे असहमति जनाइसकेका छौं : नेपाल सरकार
बिहीवार नै मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भारतले एकपक्षीय रूपमा जारी गरेको नक्सा मान्य नभएको बताएका छन् ।

‘यसबारेमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर आफ्नो भनाइ राखिसकेको छ,’ बाँस्कोटाले भने, ‘एकपक्षीय रूपमा जारी भएको राजनीतिक नक्सालाई हामीले अस्वीकार गर्ने र कूटनीतिक तथा राजनीतिक तहबाट समाधान गर्ने कुरा परराष्ट्रमार्फत सार्वजनिक भइसकेको छ ।’

मन्त्री बाँस्कोटाले सीमासँग सम्बन्धित विषयवस्तुहरू टुंगो लगाउन बाँकी रहेको बताएका छन् । ‘कूटनीतिक र राजनीतिक पहल एवं तथ्य प्रमाणका आधारमा त्यसलाई टुंगाउने छौं,’ उनले भने, ‘नयाँ नक्साबारे असहमति राखिसकेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७