मेडिकल कलेजले १५ दिनभित्र बढी शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाइने


२५ कार्तिक २०७६, सोमबार
giriraj BDjUzqKiso

काठमाडौं, २५ कार्तिक । मेडिकल कलेजहरुले विद्यार्थी र अभिभावकहरुबाट असुलेको बढी शुल्क १५ दिनभित्रमा फिर्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीका माग सम्बोधन गर्न मेडिकलहरुलाई १५ दिनको ‘अल्टिमेटम’ दिइएको जानकारी गराएका छन् । ‘१५ दिनभित्र विद्यार्थीको गुनासो समाधान नगरे ठगी मुद्दा चलाउँछौं,’ मन्त्री पोखरेलले भने ।

शिक्षा मन्त्री पोखरेलका अनुसार सोमबार गृह मन्त्रालयलाई यसबारे पत्राचार पनि गरिएको छ । चितवन मेडिकल कलेजले विद्यार्थीबाट उठाएको अवैध शुल्क कात्तिक १८ गतेभित्र फिर्ता वा समायोजन गर्ने बताए पनि कार्यान्वयन भने गरेको छैन ।

गण्डकी मेडिकल कलेज, नेनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजलगायतबाट पनि सञ्चालकले अवैध शुल्क असुलेको भन्दै विद्यार्थीहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

विद्यार्थी र अभिभावकले प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए सोही अनुसारको प्रक्रियामा आफूहरु जान सक्ने समेत मन्त्री पोखरेलले बताएका छन् । ‘हामी शुल्क फिर्ताका लागि कडाइ साथ लागेका छौं,’ उनले भने, ‘विद्यार्थी र अभिभावकले पनि सहयोग गर्नुपर्छ ।’

यसैबीच, मन्त्री पोखरेलले डडेल्धुरामा अनसनरत् डाक्टर गोविन्द केसीलाई आन्दोलन स्थगित गर्न अनुरोध गरेका छन् । डाक्टर केसीले राखेको प्रमुख माग सम्बोधन गर्न संसदले मात्र सक्ने भन्दै पोखरेलले तत्काल अनसन फिर्ता लिनुपर्ने बताएका छन् ।

‘मुलुक कालापानीमा मिचिएको भूमि फिर्ताका लागि लडिरहेका बेला उहाँले आन्दोलन फिर्ता लिएर राष्ट्रियताको पक्षमा सरकारलाई सघाउनु पर्छ,’ मन्त्री पोखरेलले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७