‘हिजो महाकालीको कुरा उठाउँदा लखेटियौं, २२ वर्षपछि राष्ट्रिय एकता भयो खुसी छु’


२६ कार्तिक २०७६, मंगलवार
bamdev gautam2
फाइल फोटो

काठमाडौं, २५ कार्तिक :  सोमबार तुलसीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासलमा पछिल्लो चर्चित बिषयमाथि बहस कार्यक्रम थिए । कार्यक्रमको आयोजक थियो, पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता प्रमुख झलनाथ खनाल रहेको नीति तथा अनुसन्धान प्रतिष्ठान विभाग ।

‘नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा’ विषयक बहस कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधव नेपाल, सचिवालय सदस्य वामदेव गौतम लगायत थिए ।


सचिवालय सदस्य गौतम बोल्ने पालो आयो । नेता गौतमले पुरानो दिन सम्झिए । नेता गौतम तिनै नेता हुन् जो महाकालीको पक्षमा बोलेकै कारण पार्टीबाट खेदिएका थिए । गौतमले सोमबारको कार्यक्रममा पनि २२ वर्षअघि (२०५४ सालको) एमाले–माले विभाजन सम्झिए । उनले भने, ‘महाकालीको कुरा उठाउँदा लखेटियौं, आज २२ वर्षपछि राष्ट्रिय एकता भयो खुसी छु ।’

महाकालीकै कारण माले जन्मिएको बताए । उनले भने, ‘नेकपा एमालेभित्र एउटा समूह निर्माण भएको थियो २०५२र५३ तिर । र, हामीले एकीकृत महाकाली सन्धिमा ठूलो बहस हुँदा सीमानाको कुुरा प्रमुख रुपमा उठाएका थियौं । त्यसले गर्दा पार्टीभित्र यति ठूलो अन्तरविरोध पैदा भयो कि हामी निस्कासित हुनुर्पयो । मसहित एमाले निर्माण गर्ने महत्वपूर्ण व्यक्तित्वहरु निष्काशित भयौं र अर्को पार्टी नेकपा माले खोलेका थियौं ।’


महाकालीको बिषयमा बोल्दा पार्टीको संस्थापन पक्षबाट अनेक आरोप आएको बताए । उनले भने,‘जहिलेसम्म नेकपा एमालेभित्र थियौं, यो विषय त्यतिकै चर्किएर उठेको थियो । र, त्यसबेलाको सरकार र पार्टीको संस्थापन पक्षले अनेक आरोप लगाए । फुटिसकेपछि हामी चार वर्ष अलग भयौं । फेरि त्यही पार्टीमा फर्किएर आउनुपर्‍यो । जे भए पनि आफैंले बनाएको घर थियो । रिस उठ्यो, बाहिर गइयो । आफ्ना कुरा त्यहीभित्र राख्नुपर्थ्यो भन्दै फर्कियौं । नफर्किँदासम्म पनि यो विषय प्रमुख थियो । पहिले रहँदा पनि यो विषय प्रमुख थियो । जब हामी फर्कियौं, यो विषय नै हरायो ।’

गौतमले उनले ०५० को दशकमा राष्ट्रियता, सीमा अतिक्रमणका विषयमा राम्रो बहस भए पनि त्यसभन्दा पछि कुनै बहस हुन नसकेको बताए । उनले अहिले लिम्पियाधुरा र कालापानी लगायतका भूभाग भारतले आफ्नो नक्सामा समेटेपछि राष्ट्र एकट्ठा हुन पुगेको बताए ।

उनले भने, ‘ आज फेरि उठेर आएको छ । यस पटकको जागरणले हाम्रो भूमिमाथि हाम्रो सार्वभौमता कायम गरेरै छोड्नेछ भन्ने विश्वास बढेर गएको छ । तर फिर्ता गर्नुपर्छ भन्नु गलत हुन्छ । दिएको चिज, खोसेर लगेको फिर्ता हुन्छ । सार्वभौमिकता खोसेर लैजान सक्दैन, यो अतिक्रमण हो । त्यसैले (सुस्ता र कालापानी)  त्यहाँबाट भारतीय फौज हट्नुपर्छ ।’

गौतमले सुगौली सन्धि अनुसार नेपालको सीमा हुनुपर्ने बताए । ‘ऐतिहासिक तथ्यअनुसार हाम्रो देशको सीमा कायम हुनुपर्दछ’, उनले भने, “हामीले सीमाको सन्धि भारतसँग नभई ब्रिटिश सरकारले सन् १८१६ मा गरेको सुगौली सन्धि अनुसार हाम्रो सीमा हुनुपर्ने माग राख्नुपर्दछ ।’ उनले सीमा अतिक्रमण गरिएका सम्बन्धमा सङ्घीय संसद्, प्रदेश संसद् र स्थानीय तहबाट सङ्कल्प प्रस्ताव पारित गरेर जानुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७