गौतम र नेपाललाई फकाउँदै ओली : गौतमलाई राष्ट्रिय सभा सदस्य बन्न प्रस्ताव


२८ कार्तिक २०७६, बिहीबार
oli nepal 14112019023714

काठमाडौं, २८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सामेल गर्न राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेका छन् । ओलीबाट

गौतमलाई यस्तो ‘अफर’ आए पनि यसअघि प्रस्तावित उपाध्यक्ष पदलाई स्थायी समितिले अझै अनुमोदन गरेको छैन ।

मन्त्रिपरिषद् पुनर्गठनको विषय चर्चामा रहेका बेला नेता गौतमलाई राष्ट्रिय सभामार्फत सांसद बनाएर उपप्रधानमन्त्रीका रूपमा भित्र्याउन खोजिएको बालुवाटार स्रोतले बताएको छ । एक नेताका अनुसार प्रधानमन्त्री ओलीले गौतमलाई यस्तो प्रस्ताव गर्नुअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए ।

‘दुई अध्यक्षबीचको छलफलपछि यस्तो प्रस्ताव आएको हो,’ गौतम निकट ती नेताले भने, ‘राष्ट्रिय सभामा पुगेपछि सरकारमा जाने बाटो खुल्छ ।’ तर गौतमले संविधान संशोधन गरेरै भए पनि आफूलाई प्रधानमन्त्री बन्नसमेत सहज हुने बाटो बनाइदिन आग्रह गरेका छन् ।

‘नेता गौतमले संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने भए मात्र आफू राष्ट्रिय सभामा आउने बताउनु भएको छ,’ ती नेताले भने । ‘राष्ट्रिय सभाबाट आउँदा प्रधानमन्त्री बन्न मिल्ने प्रावधान छैन । पटक पटक उपप्रधानमन्त्री भइसकें, मलाई संसद्मा ल्याउने हो भने संविधान संशोधन गरेर प्रधानमन्त्री हुने बाटो खोलिदिनोस्,’ गौतमको भनाइ उद्धृत गर्दै उनले भने ।

०७६ माघमा राष्ट्रिय सभाका एक तिहाइ सांसदको कार्यकाल सकिँदैछ । त्यसपछि त्यहाँ एक तिहाइ सदस्य पठाउन निर्वाचन हुनेछ । त्यतिखेर गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सम्भव हुनेछ । संविधानको धारा ७७ ले प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने परिकल्पना गरेको छ । राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्न सक्दैनन् । प्रधानमन्त्रीको चयन प्रतिनिधिसभाको बहुमतबाट हुन्छ ।

प्रधानमन्त्री ओलीले यसअघि नेता गौतमलाई तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की निर्वाचन क्षेत्र २ बाट चुनाव लड्न प्रस्ताव गरेका थिए । तर ४ असोजमा बसेको सचिवालय बैठकमा गौतमले अन्तरघातको खतरा रहेको भन्दै कास्कीबाट चुनाव नलड्ने निर्णय सुनाएका थिए । त्यसपछि ओलीले गौतमलाई राष्ट्रिय सभा ल्याउने खालको प्रस्ताव अघि बढाएका हुन् ।

विगतमा नेता गौतमले काठमाडौं, डोल्पा, प्यूठानलगायत जिल्लाबाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । त्यसका लागि केही निर्वाचित सांसदलाई राजीनामा दिएर ठाउँ खाली गराउने कसरत पनि भएको थियो । तर पार्टीभित्र सहमति जुट्न नसक्दा स्थान खाली गराएर उपचुनावमार्फत आउने गौतमको प्रयास सफल भएन ।

विगतमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नै गौतमलाई चुनाव लड्न रोकेको आशंका पनि गरिएको थियो । तर, ती आशंका चिर्दै ओलीले पछिल्लो समय गौतमलाई उपाध्यक्ष र कास्कीबाट चुनाव लड्न प्रस्ताव राखेर सम्बन्ध सुधार गर्न खोजे । पार्टीको शक्तिशाली मानिने संगठन विभागको जिम्मेवारी दिए ।

२०७४ को निर्वाचनमा बर्दियाबाट पराजित भएपछि ओली र गौतमबीच दूरी बढेको थियो । तत्कालीन एमालेको नवौं महाधिवेशनमा ओलीलाई जिताउन भूमिका खेलेका गौतमले सरकारको आलोचना गर्दै गत वर्ष पुसमा भएको स्थायी समितिको बैठकमा १६ पेजको प्रतिवदेन पेस गरेका थिए ।

त्यसमा उनले दोहोरो जिम्मेवारीको विरोध गर्दै दुई अध्यक्षले सरकार र पार्टीको काम बाँडफाँट गर्नुपर्ने गरी एक व्यक्ति एक जिम्मेवारीको अवधारणा ल्याएका थिए । त्यसपछि क्रमशः बढिरहेको ओली र गौतमको दूरी पछिल्लो समय उपाध्यक्ष बनाउने, संगठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय हुँदासम्म सुध्रिइसकेको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७