पैसाले पोल्दा, प्रमाणले खोल्दा सेनाका उच्च अधिकारीहरुलाई आइलाग्यो यस्तो ‘आपत’


२८ कार्तिक २०७६, बिहीबार
Rajendra Kshetri Army

काठमाडौं, २८ कार्तिक । ठुल्ठूला विकास, निर्माणसम्बन्धी आयोजना र प्राविधिक क्षेत्रमा भ्रष्टाचार काण्डले सेनाभित्र लहरो तान्दा पहरो गर्जिने स्थिति उत्पन्न भएको छ ।

तीन तारे जर्नेल शरद् गिरीले हेटौंडा–काठमाडौं फास्ट ट्रयाकको भ्रष्टाचारसम्बन्धी छानवीन टुंग्याएर रिपोर्ट बुझाइसकेपछि पनि अर्का जर्नेललाई यो काम हेर्ने जिम्मा दिई दोषीमाथि दु्रत गतिमा कारबाही गर्न खोजिँदै छ ।

सम्भार तथा प्रबन्ध रथी, अर्थात्, सेनाको निम्ति खरिद–बिक्रीका सारा मामिला हेर्ने जर्नेल रघु भण्डारीको काँधबाट प्रबन्धरथीको जिम्मेवारी भर्खरै सारिएको छ । सर्टिफिकेट काण्ड लागेर बालबाल बचेका अशोक सिग्देललाई अनुशासन हेर्ने युनिट निरीक्षणाधिकृतसँगै प्रबन्ध रथीको पनि काम थपी रघुलाई भ्रष्टाचारको मामिला हेर्न कामको बोझ घटाइएको हो ।

यसको मतलब पुसको १३ गतेभित्र दुईतारे जर्नेल समेत समातिने गरी अनुसन्धान टुंग्याउनका निम्ति हुनुपर्छ । यस प्रकरणमा प्रधानसेनापतिले अन्य निकायबाट समेत कारबाही हुने संकेत दिएका छन् ।

अर्थात्, बहालवाला सेनाको हकमा ६ महिना कटिसकेपछि अर्कै कानुन आकर्षित हुने व्यवस्था छ । ‘नेपाल सरकारको सम्बन्धित निकायमार्फत कारवाहीका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने’ भन्ने व्यवस्थाअनुसार केही उच्च पदस्थ सैनिक अधिकारी भूपू भईसकेता पनि अदालत र अख्तियारको झन्झटमा पर्ने भएका हुन् ।

त्यसमध्ये फास्ट ट्रयाक हिनामिना प्रकरणमा बयान लिइएका प्राविधिक जर्नेल योगेन्द्र खाँणमाथि छानवीन शुरु भएको ६ महिने म्याद पुसमा नाघ्दैछ । काण्ड बाहिर आएपछि अमेरिका उडेका पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्रीको हकमा सरकारमार्फत् अख्तियार पठाउने काम हुनसक्छ ।

सामान्यतया अख्तियारले अदालत र सेनाका मामिला हेर्दैन । तर, ती निकायले हेर्ने गरी पठाएमा प्रचलित कानुनबमोजिम कारवाही गर्ने अधिकार छ । भ्रष्टाचार काण्ड लागेर ०५१ सालको एमाले सरकारका पालामा राजीनामा दिने एकमात्र प्रधानसेनापति गडुलसमशेर राणा थिए । उनैको पालामा भ्रष्टाचार प्रकरणमै २ तारे जर्नेल योगेन्द्रप्रताप राणालाई पदबाट च्युत गरिएको थियो । अहिले अर्का दुई तारे योगेन्द्र, अर्थात् खाँण भ्रष्टाचारमा परेका छन् ।

सँगसँगै ‘वि आर सोल्जर फस्र्ट’ अर्थात्, पहिला हामी सिपाही हौं भन्ने मान्यताअनुसार प्रत्येक सैनिक पोशाकधारीलाई आधारभूत सैनिक तालिम (बेसिक) दिइँदैछ । ‘जो, जुन दर्जा, क्षेत्रमा भए पनि हामी पहिला सिपाही हौं । सिपाहीको काम भनेको सुरक्षा गर्नु हो’ भन्ने मान्यताबाट प्रेरित भएर डाक्टर, इञ्जिनियर, पाइलटहरुलाई पनि लडाईको तालिम दिन थालिएको हो ।

‘हामी प्राविधिक हौँ, बन्दुक बोक्नु पर्दैन’ भनेर अब सुख पाइने छैन । इन्फेन्ट्री, अर्थात्, लडाइँमा जाने सैनिकलाई झैं प्राविधिकलाई पनि त्यस्तो तालिम दिइएको छ । सुन्दरीजल, स्वयम्भू, एयरपोर्टमा कार्यरत हाकिमहरूलाई महिना दिनदेखि त्यस्तो तालिममा हालिएको खबर जनआस्थाले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७