नारायणगढ–बुटवल सडक बनाउन गैंडाकोटको माटो खरिद


२९ कार्तिक २०७६, शुक्रबार
tiper

नवलपुर, २९ कार्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि आवश्यक पर्ने माटो गैंडाकोट नगरपालिका–१४ को भागरबाट ल्याइने भएको छ ।

त्यहाँका १० जना व्यक्तिको नाममा रहेको ७५ रोपनी जग्गाबाट बाटो विस्तारका लागि आवश्यक माटो लैजाने सहमति भएको गैंडाकोट नगरपालिकाले जनाएको छ ।

रुख बिरुवा नभएको पहाडको डिस्को खनेर बाटो विस्तारमा प्रयोग गर्दै खेतीयोग्य जमीन बनाउने उद्देश्यले स्थानीयले माटो बिक्री गरेका नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिए ।

सडक विस्तारका लागि ठेक्का पाएको चिनियाँ कम्पनीलाई निर्माण सामग्री उपलब्ध गराउने जिम्मा पाएको सुपा निर्माण कम्पनी प्रालीले माटो लगेबापत नगरपालिकालाई प्रतिघनमिटर रु १५ का दरले करसमेत तिर्ने पौडेलले बताए ।

माटो लैजाने विषयमा गैंडाकोटको भागरमा भएको छलफलका क्रममा नगर पौडेलले माटो लैजाँदा दिउँसोको समयमा लैजानुपर्ने, सडक बिगारेको अवस्थामा तत्काल मर्मत गर्नुपर्ने तथा अन्तिममा छ मिटरको कालोपत्र सडक निर्माण गरिदिनुपर्नेलगायतका विभिन्न सहमति भएको बताए ।

पूर्व–पश्चिम राजमार्गको गैंडाकोट नगरपालिका–१४ मा पर्ने अमरापुरी चोकबाट उत्तरतर्फको भागरको माटो स्थानीयले बिक्री गरेका हुन् ।

प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएबमोजिम मात्रै माटो खन्न पाउने गरी सम्झौता गरिएको गैंडाकोटका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताए ।

माटो लैजाने पक्षले सम्झौता विपरीत काम गरेको अवस्थामा ठेक्का रद्द गराएर कारवाही गर्ने अधिकार नगरपालिकासँग भएको उनको भनाइ छ । सो स्थानको माटो नारायणगढ–बुटवल सडक खण्ड विस्तारका लागि खण्ड १ मा प्रयोग हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७