‘हाजिर जमानी’ मा छुटे रुप ज्योति


२९ कार्तिक २०७६, शुक्रबार
rupjyoti

काठमाडौं, २९ कार्तिक । ठगी आरोपमा थुनामा रहेका उद्योगी रुप ज्योति आज (शुक्रबार) हाजिर छुटेका छन् ।

गएको कार्तिक २१ गते ठगी मुद्दामा पक्राउ परेका ज्योति सरकारी वकिलको कार्यालय काठमाडौको शुक्रबार पत्रअनुसार महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् ।

जाहेरीवालाले रुप ज्योति र छोरी सुरुचीसहित ज्योति परिवारका ११ जनाविरुद्ध दिएको आफ्नो निवेदन फिर्ता लिइसकेको र जिल्ला सरकारी वकिलको कार्यालयबाट संकलित प्रमाणबाट मुद्दा चलाउनु नपर्ने देखिएकाले त्यसको निकासका लागि उच्च सरकारी वकिलको कार्यालय पाटनलाई पत्र लेखिएको छ, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी तथा सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले भने, ‘मुद्दा नचल्ने भएपछि प्रतिवादीहरुलाई थुनामा राख्नु उचित नभएकाले तबसम्मका लागि हाजिर जमानीमा छाडिएको हो ।’

खनालका अनुसार ज्योतिमाथि मुद्दा चल्ने नचल्ने निर्णय भने महान्यायाधिवक्ताको कार्यालयले गर्दछ र यस सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौले उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा अनुरोध गरेको छ ।

वादीमाथि मुद्दा चल्नेरनचल्ने निर्णय नहुन्जेलसम्मका लागि प्रतिवादीलाई बोलाएको बेला अनिवार्य उपस्थित गराउने शर्तमा कसैको जमानीमा रिहा गरिन्छ । यो मुद्दामा पनि आवश्यक परेको बेला रुप ज्योति तथा उनकी छोरी सुरुची आफैँ उपस्थित हुनुपर्छ वा आज जिम्मा लिएका व्यक्तिले उपस्थित गराउनुपर्ने हुन्छ । सरकारी वकिलको पत्र आएसँगै रुपज्योतिलाई नियमअनुसार छाडिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

गत २१ कात्तिकमा विज्ञेन्द्रकृष्ण मल्लको जाहेरीका आधारमा रुपज्योति र उनकी छोरी सुरुची ज्योति सिंगापुरबाट नेपाल फर्किना साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । मल्ल र ज्योति परिवारबीच कुरा मिलेर मुद्दा फिर्ता लिने सहमति भएको बताइएको छ ।

२०७५ मंसिर १६ मा मल्लले रुपज्योतिसहितका ११ जनाले उनको १ करोड २६ लाख ठगी गरेको भन्दै जिल्ला अदालतमा उजुरी दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७