धौलागिरी आधार शिविरमा सूचना केन्द्र


२ मंसिर २०७६, सोमबार
tourist

म्याग्दी, २ मंसिर । म्याग्दीस्थित संसारको सातौं (८,१६७) मिटर अग्लो धौलागिरी हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ ।

धौलागिरी गाउँपालिकाले पर्यटकको तथ्याङ्क र विवरण राख्न, आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन र सूचना उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र स्थापना गर्न लागेको हो । गण्डकी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयको रु ३१ लाखको सहयोगमा तीन कोठे भवन निर्माण भएको गाउँपालिकाका प्राविधिक बालकृष्ण पौडेलले बताए ।

भवनमा रङरोगन र फर्निचर व्यवस्थापन गरेर आगामी यामदेखि सूचना केन्द्र सञ्चालन गर्ने तयारी गरेको धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । सूचना केन्द्रबाट हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकको तथ्याङ्क राख्ने, सूचना प्रदान र प्राथमिक उपचार सेवा उपलब्ध गराइने उनले बताए ।

‘मुस्ताङ र म्याग्दी भएर धौलागिरि आधार शिविरमा आउने जाने पर्यटकको तथ्याङ्क राख्न लागिएको हो’, अध्यक्ष पुनले भने, ‘आधार शिविरमा पुगेका पर्यटक र सहयोगीलाई प्राथमिक उपचार सेवा उपलब्ध गराउँछाैं ।’

सूचना केन्द्रमा एक जना स्वास्थ्यकर्मी खटाइने छ । चिसोका कारण आधार शिविरमा बिरामी हुन्छन् । उनीहरुलाई स्वास्थ्य परीक्षण, परामर्श र औषधोपचार उपलब्ध गराउने योजना छ । पर्यटक तथा पर्यटन व्यवसायी र स्थानीयवासीको मागको आधारमा चेकपोष्ट राख्न लागिएको हो ।

आधार शिविरमा बिरामी हुँदा हेलिकप्टर बोलाएर अस्पताल पु¥याउने गरिएको छ । चेकपोष्ट राखिएपछि पर्यटकको विवरण राख्न र उनीहरुलाई अप्ठ्यारो परेको अवस्थामा सहयोग पुग्ने स्थानीय होटल व्यवसायी हरिप्रसाद तिलीजाले बताए । धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि वार्षिक करिब ३०० जना पर्यटक आउने गरेका छन् ।

यसैगरी आधार शिविरसम्म मोबाइल सेवा विस्तारको तयारी भएको छ । नेपाल टेलिकमसँगको साझेदारीमा बगर गाउँदेखि चार घण्टा पैदल उकालो हिंडेर पुगिने देउरालीमा बिटिएस टावर स्थापना गर्न लागिएको वडासदस्य बमबहादुर पुनले बताए । गाउँपालिकाले बिटिएस टावर स्थापना गर्न भवन बनाउन बजेट विनियोजन गरेको छ ।

गुर्जा र आधार शिविरलाई लक्षित गरेर बगरको देउरालीमा टावर राख्न लागिएको हो । यस्तै बगर तातोपानी कुण्डको पानीलाई पदमार्गअन्तर्गत जेल्तुङमा ल्याएर स्नानगृह सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७