उदयपुरमा प्रहरी र स्थानीयबीच झडप, स्थानीयद्वारा चक्काजाम


३ मंसिर २०७६, मंगलवार
police 3

उदयपुर, ३ मंसिर । उदयपुरमा आज (मंगलबार) प्रहरी र स्थानीयबीच झडप भएको छ । उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा ढुङ्गा उत्खनन विवादलाई लिएर मंगलबार बिहान प्रहरी र स्थानीयबीच झडप भएको हो । झडपपछि स्थानीयले चक्काजाम गरेका छन् ।

स्थानीयले सडक अवरोध गरेपछि एम्बुलेन्स बाहेक अन्य सवारी साधन चल्न सकेका छैनन् । झडपमा प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ । सिसुवाखोलाबाट नियम विपरीत ढुङ्गा लगेको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपर र एउटा स्काभेटरलाई नियन्त्रणमा लिएका थिए ।

रोकेर राखेको टिपरलाई त्यहाँबाट लैजाने क्रममा सोमबार राति नै स्थानीय र प्रहरीबीच झडप भएको थियो । ‘नगरपालिका र स्थानीयबीचको छलफल नमिलेपछि टिपरलाई त्यहाँबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको हो,’ जिल्ला प्रमुख अधिकारी ध्रुवबहादुर खड्काले भने ।

सोमबार नगरपालिकाका प्रतिनिधि र स्थानीयबीच छलफल भएको थियो । छलफलमा सिसुवाखोला र गिदेरीखोलाबाट अहिलेलाई ढुङ्गा लैजाने काम स्थगन गर्ने सहमति भए पनि टिपरमा लोड गरिएको ढुङ्गा त्यहीं खन्याउने विषयमा सहमति जुट्न नसकेको छलफलमा सहभागी रमेश आचार्यले बताएका छन् ।

छलफल नमिलेपछि नगरपालिकाले विषय टुङ्गो लगाउन जिल्ला प्रशासन कार्यालयलाई जिम्मा दिइएको थियो । ‘सात दिन भइसकेको थियो टिपर राकेर राखेको । त्यसैले कानुनअनुरूप नै हामीले सोमबार राति टिपरलाई जिल्ला प्रहरी कार्यालय ल्याएका हौं,’ प्रमुख जिल्ला अधिकारी खड्काले भने ।

नदी दोहनले पछि विपत्ति निम्तिने भन्दै स्थानीयले खोलाबाट ढुङ्गा उत्खनन रोक्न माग गरेको थियो । गत भदौमा नगरपालिका र बीपी कन्स्ट्रक्सनबीच तीन करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता पत्रमा नगरपालिकाको १० वटा खोलाबाट एक लाख २१ हजार ७८० घनमिटर ढुङ्गा, गिटी लैजाने भनिएको छ । जसमा अहिले विवाद देखिएको सिसुवाखोलाको १५ हजार २७९ घनमिटर पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७