नेपाल प्रहरी र सशस्त्रमा ३० वर्षेको ‘तरङ्ग’, फेरि शुरु भयो दौडधुप


४ मंसिर २०७६, बुधबार
nepal police n apf

काठमाडौं, ४ मंसिर । नेपाल प्रहरी र सशस्त्रमा सेवा अवधिलाई लिएर फेरि ‘तरङ्ग’ शुरु भएको छ । निजामती कर्मचारीको अवकाशको उमेर ५८ बाट बढाएर ६० पुर्‍याएपछि सुरक्षा निकायमा पनि अवकाशसम्बन्धी प्रावधान हेरफेरको गृहकार्य अगाडि बढेको छ ।

विशेष गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवाहद हटाउनका लागि फेरि दौडधुप शुरु भएको छ । संसदको राज्य व्यवस्था समितिको २८ कात्तिकको बैठकले अवकाशको उमेर हद बढाउने निर्णय गरेको थियो । निजामतीको माथिल्लो तहका कर्मचारीले उमेरह द बढाउन लबिङ गर्दै आएका थिए ।

नेपालीहरुको औसत आयु बढेको भन्दै यस्तो माग गरिएको थियो । त्यसमा सांसदहरु समेत सहमत भएका छन् । निजामतीको उमेर हद बढाउँदा सुरक्षा निकायमा पनि त्यही अनुसार संशोधन गर्न स्वतः दबाब परेको स्रोतले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद छ । जसका कारण ५० वर्षको उमेरमै प्रहरी अधिकारीहरुले अवकाश पाउने अवस्था छ ।

यसबाट राज्यलाई दोहोरो घाटा हुने गरेको स्रोतको भनाई छ । एकातर्फ अनुभवी कर्मचारीबाट राज्यले फाइदा लिन पाउँदैन । अर्काेतर्फ राज्यलाई पेन्सनको भार समेत बढ्दै गइरहेको छ ।
नेपाल प्रहरीको समेत नयाँ ऐन गृह मन्त्रालयमा छलफलको क्रममा छ । जसमा ३० वर्षे सेवाहद हटाउन प्रहरीबाट माग हुँदै आएको छ ।

निजामती कर्मचारीको उमेर हद बढाउने निर्णय भएपछि प्रहरीको पनि अवकाशसम्बन्धी प्रावधान हेरफेर हुने सम्भावना छ । प्रहरीको ऐन पनि राज्यव्यवस्था समितिमै छलफल हुनेछ । जसकारण ३० वर्षे सेवाहद हटाउने पक्षमा रहेका प्रहरीहरु उत्साहित भएका छन् ।

प्रहरीमा हाल उमेर, सेवा र पदावधि तीन कारणले अवकाश हुने अवस्था छ । जून अन्यायपूर्ण भएको स्रोत बताउँछ । नेपाली सेनामा सेवा हद छैन । सेवावधि थपको प्रावधान समेत छ । तर, ३० वर्षे सेवाहदका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरी भने अव्यवस्थित रहँदै आएको छ ।

एक्कासी ३० वर्षे सेवाहद हट्दा आईजीपीको रोलक्रमा रहेकाहरुलाई असर पर्दछ । त्यही समूहले संशोधन रोक्दै आएको छ । प्रहरीलाई संघीयतामा समायोजनसँगै सेवा हद हटाउँदा उचित हुने भएकाले अहिले दौडधुप चलिरहेको छ । प्रहरीको ऐन संसदको हिउँदे अधिवेशनबाट टुंगिने आंकलन गरिएको छ । गृह मन्त्रालयले ऐन मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७