विरोधका वावजुद हङकङमा तीन घण्टामै खस्यो सात लाख मत, नेपाली किन विभाजित ?


८ मंसिर २०७६, आईतवार
hongkong 1

काठमाडौं, ८ मंसिर । हङकङमा आज (आइतबार) कडा सुरक्षाबीच जिल्ला परिषद्को निर्वाचन चलिरहेको छ । निर्वाचनमा मतदाताको उल्लेख्य उपस्थिति रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहान साढे ७ बजेदेखि शुरु भएको मतदानको ३ घण्टामा ७ लाख २० हजारले मतदान गरिसकेका छन् । सन् २०१५ मा यही अवधिमा मात्र २ लाख १२ हजारले मतदान गरेका थिए । हाल लामो लाइन लागेर नागरिकहरु मतदान गरिरहेका छन् ।

hongkong election

यस निर्वाचनमा अहिलेसम्मकै बढी मतदाताहरु सहभागी भएको अधिकारीहरुको भनाइ छ । निर्वाचनमा ४० लाखभन्दा बढी मानिसले मतदाता नामावली दर्ता गरेको जनाइएको छ ।
१८ जिल्लामा जारी निर्वाचनमा ४५२ सिटका लागि एक हजार ९० उम्मेदवारहरु चुनावी मैदानमा छन् । हङकङमा ६ महिनायता जारी सरकारविरुद्धको प्रदर्शनका बीच यहाँ निर्वाचन भइरहेको हो । प्रदर्शनकारीको खतरा मध्यनजर गर्दै कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

हाल ६ सय मतदानस्थलमा निर्वाचन जारी छ । यस पटक आन्दोलनलाई समर्थन गरिरहेका पार्टीले राम्रो नतिजा ल्याउने अनुमान गरिएको गरिएको छ । हङकङमा रहेका नेपालीहरु पनि यो चुनावमा सक्रिय छन् । धेरैजसो नेपालीहरु बेइजिङ समर्थक पार्टी डीएबीमा छन् । उनीहरु डीएबीकै चुनावी लबिङ गरिरहेका छन् ।

केही नेपालीहरुले भने सामाजिक सञ्जालमार्फत आन्दोलनकारी पक्षधरको लागि भोट मागेका थिए । सरकारविरुद्धको आन्दोलन जारी रहँदा यहाँ निर्वाचन भएको हो । निर्वाचनका क्रममा हुनसक्ने खतरालाई मध्यनजर गर्दै हङकङमा भारी सुरक्षाकर्मी तैनाथ गरिएको छ । आइतबार विभिन्न मतदान केन्द्रहरुमा पर्याप्त प्रहरीहरु खटिएका छन् ।

यसै हप्ता मात्र हङकङको प्रहरी प्रमुख बनेका क्रिस ताङले त्रसित भएका मतदाताहरुलाई सुरक्षित महसुस गराउन धेरै सुरक्षाकर्मीहरु परिचालन गरिएको जनाएका छन् । ताङले प्रहरीहरु विभिन्न स्थानमा खट्ने भएकाले कसैको डर, धम्की र हस्तक्षेपमा नपरी निर्वाचनमा स्वतन्त्र रुपमा भाग लिन आग्रह गरेका छन् । ६ महिनायता जारी सरकार विरोधी आन्दोलनका बीच जारी जिल्ला परिषद्को यस निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।

hongkong election 2

‘आन्दोलनकारीलाई जिताउनु हिंसालाई अनुमोदन गर्नु सरह’
याउ चिम मोङ जिल्ला अल्पसंख्यक वर्किङ ग्रुपका पूर्व सदस्य तथा हङकङ सरकारको चिफ एक्जिक्युटिभ कन्फेडेरेसन मेडलबाट बिभूषित भएका कुलप्रसाद गुरुङ जिल्ला परिषद्को निर्वाचनले आन्दोलनकारीहरुलाई गलत सावित गरिदिने दावी गर्छन् । उनीहरुको हिंसा कसैले रुचाएका छैनन् भनेर यस निर्वाचनले देखाउने गुरुङ बताउँछन् ।

उनले यस निर्वाचनमा आन्दोलनकारी पक्षधरलाई भोट दिनु भनेको हिंसा गर्न अनुमति दिनु जस्तै भएको पनि बताएका छन् । उनी भन्छन्, ‘आन्दोलनकारीलाई भोट दिनु ‘साइलेन्ट मेजोरिटी’ हो ।’

सरकारको जीत सुनिश्चित

हङकङ सरकारद्वारा चिफ एक्जिक्युटिभ कन्फेडेरेसन मेडलबाट बिभूषित नेपाली महासंघकी पूर्व अध्यक्ष रिता गुरुङ चुनाबमा बेजिङ समर्थकहरुको बिजय सुनिश्चित रहेको दावी गर्छिन् । सरकार समर्थकहरुको नै जीत भए पनि यहाँ हिंसा रोकिने कुरामा भने उनी बिश्वस्त छैनन् । उनी थप्छिन्, ‘हिंसालाई कसैले पनि प्रश्रय दिन हुँदैन ।’

आन्दोलनकारीको पक्षमा पनि भोटको लविङ
नेपालको राजनीतिक पार्टी नेपाली कांग्रेस निकट संस्था नेपाली जनसम्पर्क समिति हङकङका पूर्व कोषाध्यक्ष ताहिर खानको परिवारले नै आन्दोलनकारी पक्षधरलाई मतदान गर्ने जनाएको छ ।
आफ्नो परिवार नेपाली कांग्रेससँग आवद्ध रहेको बताउँदै आफूले सँधै प्रजातान्त्रिक मूल्य मान्यतालाई पछ्याएको हुनाले हङकङमा पनि प्रजातान्त्रिक पक्षधरहरुलाई मतदान गर्ने उनले बताएका छन् ।

hongkong election 3

चार बर्ष अगाडि उनले एक्लै भोट गरेका थिए । यस पटक भने ताहिरको परिवारबाट १० जनाले निर्वाचनमा भोट दिने जनाइएको छ । हङकङमा ठूलो संख्याका नेपालीहरु बेजिङ समर्थक डीएबी पार्टी निकट छन् ।

हङकङमा हरेक चार बर्षमा एक पटक जिल्ला परिषद्को चुनाव हुने गर्दछ । सन् २०१५ मा ४ सय ५२ सिटका लागि भएको चुनावमा बेजिङ समर्थक प्रो–इस्टाब्लिसमेन्टले २९८, प्रजातान्त्रिक पक्षधर पान डेमोक्राटले १२६ र स्वतन्त्र उम्मेदवारले ७ सिट जितेका थिए ।

यो पटक कुल जनसंख्या ७० लाख ३९ हजारमध्ये ४० लाख १२ हजारले मतदानमा भाग लिँदैछन् । जसमध्ये ३८ लाख ६ हजार नयाँ मतदाता रहेको जनाइएको छ । निर्वाचन आइतबार बिहान ७ः३० बजेदेखि राति १०ः३० बजेसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७