विप्लवका नौं कार्यकर्ता पक्राउ, धरानको उपनिर्वाचनमा विष्फोट गराउने योजना ‘असफल’


१० मंसिर २०७६, मंगलवार
Biplab

सुनसरी, १० मंसिर । प्रहरीले सुनसरीबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नौं कार्यकर्तालाई पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिकामा मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी बम विष्फोट गर्ने तयारी गरिरहेको र चन्दा उठाउँदै गरेको सुराकीको आधारमा उनीहरु पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई सोमबार राति धरानको भानुचोक र धरान–१५ स्थित निराजन बस्तीबाट प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।

प्रहरीले पहिले साँझ साढे ६ बजे धरान–८ भोटेपुल बस्ने रमेश भनिने कुमार ढकाललाई भानुचोकबाट पक्राउ गरेको हो । ढकाल पूर्व वाइसिएल नेता हुन् । ढकालकै बयानकाआधारमा थप ८ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरु आठै जनालाई धरान–१५ का वडाध्यक्ष नरेश इङ्वारमको पुरानो घरबाट पक्राउ गरिएको थियो । त्यहाँबाट पक्राउ पर्नेहरुमा सुवास राई, संजेस राई, दिपेन्द्र राई, उदिप रसाइली, प्रविन राई, उमेश राई, पदम राई, महेन्द्र राई र सुवास राई रहेका छन् । पक्राउ पर्नेहरु मध्ये संजेस र रमेश धरान(८ भोटेपुलमा बस्दै आएका हुन् भने बाँकी संखुवासभाको सिलिचोङ–३ ताम्कु बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

चन्द कार्यकर्ताहरु वडाअध्यक्ष इवारमको पुरानो घर भाडामा लिएर धरानमा चन्दा आतंकसँगै उपनिर्वाचन बिथोल्न प्रेसर कुकर बम बनाउने योजनामा थिए । उनीहरुलाई प्रहरीले पक्राउ गरेपछि मात्र आफ्नो पुरानो घरमा भाडामा बसेका व्यक्तिहरु चन्द कार्यकर्ता रहेको थाहा भएको वडाध्यक्ष इङ्वारमले बताएका छन् ।

इप्रकाका प्रनाउ न्यौपानेका अनुसार उनीहरुकासाथबाट धरानका विभिन्न व्यापारीबाट चन्दा उठाएर जम्मा गरेको एक लाख १२ हजार ५ सय रुपैयाँ, एउटा अढाइ लिटरको नयाँ प्रेसर कुकर, चन्दको हस्ताक्षर भएको आर्थिक सहयोगको अपिल रसिद २ थान , मोटरसाइकल २ थान, मोवाइल सेट १० थान र सिम १२ थान बरामद भएको छ ।

प्रहरीले चन्द समूहका कार्यकर्ताहरुले मंसिर १४ गते धरानमा हुने उपनिर्वाचनमा अवाञ्छित गतिविधि गर्ने र चन्दा आतंक मचाउने तयारी गरिरहेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७