बागलुङमा वाम गठबन्धन मतान्तर बढाउने र कांग्रेस नतिजा उल्टाउने दाउमा

को हुन् शाही, शेरचन र विक ?


प्रकाशित मिति : November 27, 2019

बागलुङ, ११ मंसिर । बागलुङ २ (ख) मा हुने प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही र नेपाली कांग्रेसका उम्मेदवार जीतबहादुर शेरचनबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।

सत्तारुढ नेकपाको आंकलन सही ठहरिएमा वाम गठबन्धनले चार हजार बढीको मतान्तरसहित उपचुनाव जित्ने छ । गत चुनावमा वाम गठबन्धनसँग तीन हजार २६० मतले पछि पर्दै कांग्रेसले पराजय व्यहोरेको थियो ।

नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाका अनुसार यसपालि वाम गठबन्धनको मत एक हजार बढ्ने अनुमान छ । ‘हाम्रो जीत निश्चित छ, विगतको मत जोगाए मात्र पुग्छ’, उनले भने । पार्टी एकता, सङ्गठन विस्तार, सरकार र जनप्रतिनिधिले आर्जेको लोकप्रियताको जगमा गठबन्धनको पक्षमा परिणाम आउने अध्यक्ष सापकोटाको जिकिर छ ।

राष्ट्रिय जनमोर्चाका उम्मेद्वार शाही चुनावी मैदानमा छन् । विसं २०७४ को चुनावमा पनि राजमोकै टेकबहादुर घर्ती विजयी भएका थिए । घर्तीको गत वर्ष निधन भएपछि रिक्त प्रदेशसभा सदस्यमा उपचुनाव हुन लागेको हो ।

घर्तीले ११ हजार ८८४ मतसहित कांग्रेसका उम्मेद्वार शेरचनलाई पराजित गरेका थिए । उपचुनावमा समेत उम्मेद्वार रहेका शेरचनले अघिल्लो चुनावमा आठ हजार ६६४ मत प्राप्त गरेका थिए । अहिले पनि मुख्य प्रतिष्पर्धा वाम गठबन्धन र कांग्रेसबीच नै हुने निश्चित छ ।

अघिल्लो चुनाव जितेको वाम गठबन्धन मतान्तर बढाउने र कांग्रेस नतिजा उल्टाउने दाउमा छ । कांग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापा उपचुनाव आफ्नो पार्टीले जित्नेमा ढुक्क छन् । ‘विगतका कमी कमजोरी सुधार्दै पार्टी एक ढिक्का भएर चुनावमा होमिएको छ’, उनले भने, ‘२२ वटै वडामा विगतको भन्दा डेढ–दुई सयले हाम्रो मत बढ्छ ।’

वाम गठबन्धनभित्रको असन्तुष्टि, विगतको चुनावमा गरेका प्रतिबद्धता पूरा नहुनु जस्ता कारणले कांग्रेसको पक्षमा जनमत बढ्ने उनको बुझाइ छ । सङ्घीयताको पक्षधर नेकपा र विरोधी राजमोबीचको चुनावी तालमेल पनि अस्वाभाविक रहेको सभापति थापाको आरोप छ ।

कांग्रेसले गत चुनावमा त्यस क्षेत्रका तीन स्थानीय तहमध्ये निसीखोला गाउँपालिकाबाट समानुपातिकतर्फ दुई हजार ९०८ मत ल्याएको थियो । त्यस्तै तमानखोला गाउँपालिकाबाट दुई हजार १६८ र ढोरपाटन नगरपालिकाबाट दुई हजार ३४२ मत पाएको थियो । कांग्रेसका उम्मेदवार शेरचनले प्रत्यक्षतर्फ एक हजार २०० मत बढी ल्याएका थिए ।

यस्तै वाम गठबन्धनले समानुपातिकतर्फ ढोरपाटन नगरपालिकाबाट पाँच हजार ६३६, निसीखोला गाउँपालिकाबाट चार हजार २०७ र तमानखोला गाउँपालिकाबाट एक हजार ८२४ मत पाएको थियो । गठबन्धनका उम्मेदवार घर्तीले प्रत्यक्षतर्फ २१७ मत बढी ल्याएका थिए ।

स्थानीय तहको चुनावमा भने ढोरपाटन नगरपालिकामा तत्कालीन नेकपा (एमाले) र निसीखोला तथा तमानखोला गाउँपालिकामा कांग्रेसले जितेको थियो । वाम दल एक्ला एक्लै चुनाव लडेपछि स्थानीय तहको चुनाव काङ्ग्रेसका लागि सहज थियो तर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा आइपुग्दा वाम दलले चुनावी ताममेल गरे । एमाले, नेकपा (माओवादी केन्द्र) र राजमोबीच गठबन्धन बन्यो ।

विसं २०७० को दोस्रो संविधानसभा चुनावमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्र जितेको काङग्रेसले वाम गठबन्धनकै कारण विसं २०७४ को चुनावमा हार व्यहोर्‍यो । कांग्रेससामु वाम गठबन्धनको चुनौती यस उपचुनावमा पनि दोहोरियो । काङ्ग्रेसबाट अघिल्लो पटक पराजित शेरचन नै फेरि चुनावी मैदानमा छन् ।

उपचुनावको दौडमा वाम गठबन्धन र कांग्रेसपछि तेस्रो शक्तिका रुपमा समाजवादी पार्टी देखिएको छ । समाजवादीले युवा उम्मेदवार अशोककुमार विकलाई अघि सारेको छ । अघिल्लो चुनावमा ५३ मत ल्याएको नयाँ शक्ति पार्टीसँगको एकतापछि बनेको समाजवादी पार्टीले उपचुनावमा मत बढाउने देखिन्छ ।

मतदाताले वैकल्पिक शक्तिका रुपमा आफ्नो पार्टीलाई छान्ने समाजवादी पार्टीका जिल्ला अध्यक्ष चित्र सापकोटाले बताए । अरु पार्टीले जस्तो अव्यावहारिक र महत्वाकांक्षी चुनावी आश्वासन जनतालाई नबाँडिएको उनको भनाइ छ । अन्य साना दल पनि जितको लक्ष्यसहित चुनावी मैदानमा छन् । गत चुनावमा ३०० मत प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेश कुँवर चुनावी मैदानमा छन् ।

राप्रपाले राष्ट्रियता, धार्मिक स्वतन्त्रता, संवैधानिक राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायत मुद्दा उठाएको छ । राप्रपाका उम्मेद्वार कुँवर यसअघि कांग्रेसबाट तत्कालीन राजकुत गाविसका वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा छन् ।

स्वतन्त्र उम्मेद्वार घर्तीले भने समयाभावमा उम्मेद्वारी फिर्ता लिन नसके पनि उनले वाम गठबन्धनका उम्मेदवार शाहीलाई सघाउने सार्वजनिक घोषणा गरेका छन् । नेकपाका स्थानीय नेता समेत रहेका घर्तीले वाम गठबन्धनप्रति असन्तुष्ट रहँदै स्वतन्त्र उम्मेद्वारी दिएका थिए । उनी अहिले वाम गठबन्धकै चुनाव प्रचारमा व्यस्त छन् ।

के भन्छन् उम्मेदवार

वाम गठबन्धनका तर्फबाट राजमोका उम्मेदवार शाहीले वाम गठबन्धन नै आफ्नो जितको पहिलो आधार भएको बताए । ‘अहिलेको सरकार जनतामाझ लोकप्रिय हुँदै गएको छ, हाम्रो सङ्गठन पनि विस्तार भएको छ’, उनले भने, ‘सजिलै चुनाव जितिनेमा म ढुक्क छु ।’ महत्वकांक्षी योजना भन्दा पनि जनताका आधारभूत मुद्दा सम्बोधन गर्ने गरी अगाडि बढ्ने उनको योजना छ ।

कांग्रेसका उम्मेद्वार शेरचन अघिल्लो चुनावपछि जनतामाझ घुलमिल भएको, सुख–दुःखमा सघाएको, सङ्गठन बनाएको आदि कारणले चुनाव जित्नेमा विश्वस्त छन् । ‘गएको चुनावमा केही मतको अन्तरले हारे पनि जनताको काम र सेवा गर्न छोडिन’, उनले भने, ‘अहिले परिस्थिति फरक छ, हामी चुनाव जित्छौं ।’ उनले पहिले चुनाव जितेका दल र उम्मद्वारले जनतामाझ गरेको वाचा पूरा गर्न नसकेको आरोप समेत लगाए । पहिले चुनाव हारेका कारण आफूले सद्भावको मत पनि बटुल्ने शेरचनको भनाइ छ ।

सबै खाले विभेदको अन्त्य र समतामूलक समाज निर्माणको उद्देश्य पूरा गर्न आफू उम्मेद्वार बनेको समाजवादी पार्टीका उम्मेद्वार विकको भनाइ छ । गाउँमै बसेर जनताको दुःख, सुखमा सघाएकाले चुनाव जित्ने उनको जिकिर छ । ‘राजनीतिक, सामाजिक अभियानमा मेरो भूमिका छ, पछाडि पारिएका उत्पीडित वर्ग, समुदायको हितमा मैले काम गरेको छु’, विकले भने, ‘म युवा पनि भएकाले सबैको साथ पाउनेमा ढुक्क छु ।’

को हुन् शाही, शेरचन र विक

राजमोका उम्मेद्वार शाही पार्टीका जिल्ला सदस्य हुन् । निसीखोला गाउँपालिका–३ बोहोरागाउँका शाही शिक्षण पेशाबाट निवृत्त भएपछि राजनीतिमा सक्रिय भएका हुन् । उनी राजमोका पाका र विश्वासिला नेता मानिन्छन् । यस्तै नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका शेरचन विद्यार्थीकालदेखि नै कांग्रेसको राजनीतिमा आवद्ध छन् ।

ढोरपाटन नगरपालिका–१ का शेरचन नेपाल विद्यार्थी संघको तर्फबाट विसं २०६२ सालमा काठमाडौंस्थित ताहचल क्याम्पसको स्ववियू सभापति समेत भएका थिए । कांग्रेसजन माझ शेरचन स्पष्ट वक्ता र विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । शेरचनलाई नेपाली कांग्रेसले दोस्रो पटक उम्मेद्वार बन्ने अवसर दिएको हो ।

समाजवादीका उम्मेद्वार विक पार्टीको गण्डकी प्रदेश सदस्य हुन् । समाजवादीमा प्रवेश गर्नुअघि उनी नेपाली कांग्रेसमा आवद्ध थिए । गएको स्थानीय तहको चुनावमा कांग्रेसको तर्फबाट ढोरपाटन नगरपालिका–१ को वडाध्यक्षमा उम्मेद्वार बनेका थिए । उनले दलित समुदायको हक, हितमा समेत काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्